वरिष्ठ पत्रकार पूर्णलाल चुकेसँग पठन वार्ता
Saturday, August 14th, 2021, 2:17 pm
Kalpristha
पुस्तकले संसारलाई शासन गर्छ ।- भोल्टेयर
पुस्तक पढ्ने संस्कारलाई सभ्य समाजको अभिन्न अंगका रुपमा लिइन्छ । हामीकहाँ विद्यालयको कोर्शका किताब र लोकसेवाका किताबबाहेक अरु किताबहरु आमरुपले पढ्ने संस्कार अझै बसिसकेको छैन ।
कालपृष्ठले पुस्तक पठन संस्कारबारे संवाद श्रृंखला ‘पठन वार्ता’ सुरु गरेको छ ।
पहिलो अंकमा करिब पाँच दशकदेखि पत्रकारिता गर्दै आउनुभएका नेपाली पत्रकारिताका प्रेरणादायी व्यक्तित्व पूर्णलाल चुकेसँग पठन वार्ता गरेका छौँ ।
तपाईंको रोजाईमा कस्ता पुस्तक पर्छन् ?
मलाई कविता विधा मन पर्छ । यस्तै सामाजिक र पारिवारिक विषयवस्तुका पुस्तक मन पर्छन्् ।
अहिले के पढिरहनुभएको छ ?
अहिले हरिवंश आचार्यको चिना हराएको मान्छे पढिरहेको छु ।
यसभन्दा ठ्याक्कै पहिला के पढ्नुभयोे ?
यसभन्दा अघि प्रेम प्रकाश मल्लको मधुकरको ‘छोटो जीवन लामो कहानी’ र ‘उनी’ पढें ।
ती पुस्तकको मन परेको पक्ष के थियो ?
प्रेम प्रकाश मल्लले आफ्नो एकमात्र छोरालाई गुमाएपछिको भावना मार्मिक तरिकाले व्यक्त गर्नुभएको छ । त्यसैगरी आफ्नो जीवन संगिनीको सम्झनामा लेखिएका गजल, गीत र रोदन भावका रचनाहरु मार्मिक लागे ।
ती पुस्तकको मन नपरेको पक्ष के छ?
त्यस्तो केहीे लागेको छैन । साहित्यीक हिसाबले उहाँका रचनाहरु पठनीय छन् ।
अब के पढ्ने तयारीमा हुनुहुन्छ ?
यही पुस्तक भन्ने छैन । कुनै समसामयीक विषयवस्तुका पुस्तक फेला परे पढ्नेछु ।
अहिलेसम्म कति पुस्तक पढ्नुभयो होला ?
ठ्याक्कै भन्न सक्दिन । तर धेरै पुस्तक पढियो । पत्रकारिता सुरु गरेकै ४६ वर्षभन्दा बढी भइसक्यो । त्यसभन्दा अघि देखि नै म पुस्तकहरु पढ्थें । कमसेकम एक सयभन्दा बढी नै पढियो होला ।
घरमा पुस्तकालय छ ?
घरमा पुस्तकालय बनाउने मैले प्रयास चै गरेको हँु । पुस्तक संकलन त गरेको हुँ । करिब एकसय पचास पुस्तकहरु मैले जय पृथ्वी पुस्तकालय कारकाँदोलाई पनि दिएँ । त्यसपछि अरुलाई पनि दिएँ । तर घरमै पुस्तकालय चाहिँ बनाइसकेको छैन ।
संग्रह गरेका पुस्तक कति होलान् ?
करिब तीन चारसय पुस्तकहरु होलान् ।
तपाईंसँग संग्रहमा भएको सबैभन्दा प्रिय पुस्तक कुन हो ?
‘सेतो बाघ’, ‘चिना हराएको मान्छे’, ‘उनी’ आदि छन् ।
सुरुमा नाम लिनुभएको सेतो बाघ किन प्रिय भएको ?
त्यसमा त्यसबेलाको ऐतिहासिक पक्ष, राणा शासनको विषयमा राणा परिवारकै व्यक्तिले लेखेको भएर मलाई त्यो पुस्तक मन परेको हो ।
पुस्तकमा अहिलेसम्म कति खर्च गर्नुभयो होला ?
मैले विद्यार्थी जीवनमा काठामाडौंमा पढ्दाखेरि साहित्यीक पत्रिकाहरु किन्दा चिया खाजा पनि नखाएर किनेको थिएँ । ठ्याक्कै लेखा जोखा त छैन । त्यसबेलादेखिको जोड्ने हो भने लाखौं रुपैयाँ किताब र पत्रपत्रिकामा खर्च गरियो होला ।
तपाईंले हालसम्म पढेको सबैभदा उत्कृष्ठ लागेको पुस्तक चाहीँ कुन हो ?
कार्ल मार्क्सले लेखेको पँुजी भन्ने किताब सबैभन्दा मन परेको पुस्तक हो ।
त्यसमा उल्लेखनीय के छ ?
त्यसमा गरिएको आर्थशास्त्रको विश्लेषण नै उल्लेखनीय पक्ष हो ।
पढन चाहेर पनि पढ्न नपाएको वा नभेटेको पस्तक कुनै छ ?
चद्रप्रकाश बानियाँको महारानी पढ्न चाहेर पनि पढ्न पाएको छैन ।
तपाईंको लागि पुस्तकको महत्व के हो ?
पुस्तक लेखकका लागि ठूलो उपलब्धि हो । पाठकका लागि जीवनलाई गहिरो गरी बझ्ने साधन ।
प्रस्तुति : विपी अस्तु