प्रचण्डका कारण देशमा अस्थीरता : निवर्तमान मुख्यमन्त्री पोख्रेल
Saturday, August 14th, 2021, 3:46 pm
Kalpristha
कालपृष्ठ समाचादाता
दाङ, ३० साउन
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा रहेको अस्थिरता, अवसरवाद र महत्वाकांक्षाका कारण देशमा अस्थीरता सिर्जना भएको बताएका छन् ।
घोराही बजारमा निर्माण गरिएको कम्युनिष्ट नेता नेत्रलाल अभागीको शालिक अनावरण गर्दै नेता पोख्रेलले अस्थिरताको सिर्जना गर्ने काम प्रचण्डले गरेको आरोप लगाएका हुन् । ‘प्रचण्डलाई आधार बनाएर हामीले चुनावी गठबन्धन ग¥यौँ । पार्टी एकता ग¥यौँ’–नेता पोख्रेलले भने–‘ तर उहाँले जनयुद्ध कालमा ढाडमा टेकेर टाउकोमा हान्ने लिएको नीति छाड्नु भएको रहिन्छ । आजको परिणामले त्यही कुराको पुष्टि गरेको छ ।’ उनले प्रचण्डले नेता माधवकुमार नेपालको ढाडमा टेकेर अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको आरोप लगाए ।
नेता पोख्रेलले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डको कुण्डा र प्रतिशोधको मोहरा मात्र बन्ने काम गरेको बताए । बर्तमान सत्ता साझेदार दलहरुको गठबन्दनलाई नेता पोख्रेलले प्रतिशोधका आधारमा बनेको झुण्ड भएको भन्दै झुण्डबाट बनेको सरकारसँग कुनै निती, कार्यक्रम र सिद्धान्त नभएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधिनताको, राष्ट्रिय स्वाभिमान, विकास र समृद्धिमा आधारित लोकतन्त्रको पैरवी गर्ने भन्दै अन्य पार्टीसँग नीति,कार्यक्रम र सिद्धान्त नभएर कुण्ठा,अवसरवाद र प्रतिशोध मात्र रहेको आरोप लगाएका थिए ।
उनले अदालतको आदेशबाट बनेको सरकारको गन्तव्य नभएको बताए । ‘ अहिलेको सरकार अदालतको परमादेशका आधारमा बनेको छ । यसको गन्तव्य छैन’–उनले भने–‘ देवाजी प्रधानमन्त्री हुनुुभयो, केही मन्त्री भएका छन्, अव केहि राजनीतिक नियुक्तीहरु होलान । तर सरकार चल्दैन सक्दैन ।’ जनताका बिचमा जाने कुराको बिकल्प छैन भन्ने कुराको पुष्टि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने स्थीति प्रचण्डकै कारण आउने नेता पोख्रेलको दावी थियो ।
लुम्विनी प्रदेशको नेतृत्व गर्ने अवसर दाङले प्राप्त गरेपनि अवसरवाद र स्वार्थी राजनीतिका गुमाउनु परेको भन्दै नेता पोख्रेलले प्राविधिक रुपमा नेतृत्व गुमाएपनि जनताको मनबाट हट्न नसक्ने बताए । ‘लुम्विनी प्रदेशको सस्थापक मुख्यमन्त्रीका रुपमा हामीले धेरै फाण्डेशन तयार गरेका छौ । जुन फाउण्डेशन कसैले फाल्न वा भत्काउन सक्ने छैनन्’–नेता पोख्रेलले भने–‘त्यही कारण हामी जनताको मनमा, जनताको आस्था र विश्वासमा सधै रहिरहनेछौ ।’ नेता पोख्रेलले निष्ठा,सर्मपन र त्यागको राजनीति गरेर जनतालाई चेतना बाड्ने काम नेता नेत्रलाल अभागीले गरेको भन्दै उहाँबाट कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुले राजनीति सिक्नुपर्ने बताएका थिए ।
शालिक लुम्बिनी प्रदेश सरकारको १५ लाख सहयोगमा शालिक निर्माण भएको निर्माण समितिका कोषाध्यक्ष किरण रेग्मीले जानकारी दिएका छन् । कम्युनिष्ट आन्दोलन र समाज परिवर्तनका लागि निर्भिकता र इमान्दारिताका साथ जीवन अर्पण गरेका नेत्रलाल २०४१ साल जेठ ६ गतेका दिन पार्टी कामका लागि देउखुरी जाँदै गर्दा सम्पर्क विहीन भएका थिए । उनको वेपत्ता भएको ६ महिनापछि तत्कालिन चैलाही गाविस थरिकोट फेदी बौराह खोलानजिक सुकेखोलाको किनारमा अवशेष फेला परेको थियो ।