छात्रा कलेज सन्चालक समिति गठन
Saturday, August 14th, 2021, 6:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, साउन ३०
नेपालगन्जमा निर्माणको अन्तिम चरणमा रहेको छात्रा कलेज सन्चालनका लागि सन्चालक समिति गठन गरिएको छ । मधेशी आयोगाका सदस्यसमेत रहेका विजय गुप्ताको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा रविन्द्र कणर्, अनिता शाह, मैमूना सिद्धिकी, नमस्कार शाह, कौसलकुमार धोवी, मो. खालिद ईकवाल ईराकी, चन्द्रशेखर पाण्डे, दिपाली टण्डन गुप्ता रहेका छन् । समितिको सदस्य सचिव क्याम्पस प्रमुख र शिक्षा महाशाखाबाट पनि समितिमा प्रतिनिधित्व हुने जनाइएको छ । यसैगरी नगरप्रमुख डा. धवल शम्शेर राणाको संयोजकत्वमा डा. एम किदवाई, डा. कौशलकुमार वर्मा, परवेज अली सिद्धिकी र सशी स्वार रहेको सल्लाहकार समिति गठन गरिएको छ । उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा अनूगमन समिति गठन भएको छ ।
सन्चालक समितिका पदाधिकारी र सल्लाहकार समितिका सदस्यहरुलाई शनिबार औपचारिक पत्र हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख राणाले महिला कलेज सन्चालनका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै उप-महानगरपालिकाको परियोजना भएपनि यसको सन्चालन उप-महानगरपालिकाको प्रत्यक्ष नियन्त्रण भन्दा स्वायत्त होस भन्ने चाहना आफूहरुको रहेको बताए ।
उपप्रमुख थापा मगरले समाजमा पछाडी परेका समुदायका छात्राहरुलाई उच्च शिक्षामा प्रवेशका लागि कलेज सन्चालन गर्न लागिएकोले राजनीतिक प्रभावविना निष्पक्ष भएर काम गर्न समितिका पदाधिकारी र सदस्यहरुलाई आग्रह गरिन् ।
उप-महानगरपालिकाले मंगलप्रसाद उच्च माविमा कलेज स्थापनाका लागि ४० कोठे भवन तयार पारेको छ । यसवर्र्ष बिएससी सिएसआईटी र बिएड कक्षा सन्चालन अनुमतिका केही दिनमै प्रस्तावनापत्र मध्यपश्चिम विश्वविद्यालयमा पेश गरिने उप-महानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।
विशेषगरी मधेसी र मुस्लिम समुदायका छात्राहरुलाई गरेर कलेज स्थापना गर्न लागिएको हो ।