रोजगारी माग्दै नेपालगन्जका मुस्लिम महिला
Saturday, August 14th, 2021, 9:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० साउन
नेपालगन्जकी करीब ३८ वर्षिय व्यवसायी रुव्वी खातुनलाई लत्ता कपडाको व्यापार गर्ने ठाँउको अभाव छ । उनि नेपालगन्ज मेडिकल कलेज अगाडि गेट छेउमा कपडाको व्यापार गर्दै आएकी छिन् । अस्पताल परिसरमा रोटेसन सिस्टम भएकाले त्यस क्षेत्रमा रातिको समयमा मात्र आफ्नो व्यापारको पालो आउने गरेको उनको भनाई छ । रातको समयमा व्यापार न्युन हुने भएकाले व्यापार गर्ने ठाँउको व्यवस्था मिलाइदिन आग्रह गरिन् । ‘यस क्षेत्रमा दिनमा एउटाले, रातमा एउटाले व्यापार गर्ने गरी पालो मिलाइएको छ । मेरो पालो राती आउँछ, रातमा व्यापार हुँदैन’ उनले भनिन् । दिउँसोमा त्यस क्षेत्रमा खाली ठाँउ नहुने भएकाले रातीमा पानी पर्दा थप समस्या हुने गरेको छ ।
‘श्रीमान् र ४/५ जना छोराछोरी पाल्नुपर्ने जिम्मेवारी मेरो काँधमा छ’ परीवारको जीविकोपार्जनका लागि रातिको कमाइले नपग्ने बताउदै उनले भनिन् ‘रातिमा कहिले २/३ हजारको कमाई हुन्छ, कहिले त सय रुपैँया पनि हुदैन ।’
परीवारको जीविकोपार्जनको माध्याम यहि एउटा मात्रै भएकाले उनका लागि व्यापारका लागि ठाँउ खोज्नु ठुलो चुनौति बनेको छ ।
उनिजस्तै, नेपालगन्ज ५ कि फुलजहा कसगरलाई सिलाई कटाई सिपको तालिम सन्चालन गर्नका लागि ठाँउको आवश्यक्ता छ । आत्मनिर्भर बन्ने चाहाना बोकेकि कसगरको हातमा सिप छ, तर रोजगारी छैन । आर्थिक अभाव झेलिरहेकी कसगर पनि तालिम सन्चालन गर्ने ठाँउको खोजीमा छिन् ।
रुव्वी र फुलजहा मात्रै होइन, नेपालगन्जका अधिकांश मुस्लिम महिलाहरुले आत्मनिर्भर बन्ने चाहाना राखेका छन् । तर आर्थिक अभावका कारण सिप भएर पनि खाली बस्नुपरेको उनिहरुको भनाई छ । कतिपयले आफुहरुसंग सिप नै नभएको र सिप भएकासंग रोजगारी नभएको भन्दै उनीहरुले अगुवा महिलाहरुसंग रोजगारीको व्यवस्था गर्नका लागि माग गरेका हुन् । मुस्लिम महिला उद्यमी संघले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायी कस्मिरा खातुनले आर्थिक अवस्था कमजोर हुदाँ महिलाहरु थप घरेलु हिंसाको सिकार भएको बताइन् । मुस्लीम महिला उद्यमी संघ नेपालगन्जकी अध्यक्ष समेत रहेकी खातुनले सरकारले व्यवसाय गर्न चाहानेलाई सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने बताइन् । चर्को व्याजदरका कारण ठुला व्यवासायी समेत मारमा परेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसीले एकतामा बल हुने भएकाले संगठित हुन महिलाहरुलाई आग्रह गरीन् । यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउदै उनले यसका लागि नीति निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाइन् । कार्यक्रममा महिला अगुवा अन्जना चौधरी, तारा रोकाय, मन्दिरा पाण्डेलगायतको सहभागिता थियो ।