५० घर बाढीको जोखिममा
Sunday, August 15th, 2021, 10:19 pm
Kalpristha
बिक्रम बुढाक्षेत्री
नेपालगन्ज, ३१ साउन
गर्भवती अवस्थाकी नेपालगन्ज उप-महानगरपालिका-२०, राझा गाउँकी गुडिया बेहनाले डाक्टरका अनुसार अबको दुई दिनपछि बच्चालाई जन्म दिन्छिन् । तर नेपालगन्ज जस्तो सुगम सहरमा बस्ने गुडिया यतिबेला घरबारविहीन बनेकी छन् । भएको माटोको घरमा पानी पसेर भरिएपछि गुडिया आठ जनाको परिवारसँगै त्रिपालमूनि रात काटिरहेकी छन् ।
एक सातायता भएको वर्षका कारण उनको घरभित्र कम्मरसम्म पुग्ने पानी भरिएको छ । पानी भरिए भएकोे सबै अन्नपात पानीले भिजाइदिएको छ । अहिले उनको नसिबमा एक जोर न्यानो ओछ्यानपनि छैन ।
गुडियाकी आमा नाजिमा बेहेना धोतीको पछ्यौराले आँसु पुछ्दै भन्छिन्, ॅहामारे लोगनके तो सब उठिबास कैदिन । ना खाएके लिए खाना हैँ । ना सोएके लिए बिस्तर हैँ । घर भि पूरा पानीसे खतम होइगा । अभि त्रिपालेके निचे साइथेन । कभी हो गया तो खाइथेन । नहीतो भुकी रहो ।’ नाजिमा जे-जस्तो भएपनि आफूहरुले सहेपनि बुहारी सुत्केरी भएको बेला धेरै समस्या हुने बताउँछिन् ।
राझा गाउँमा बेहेनामात्रै बाढीले प्रभावित छैनन् । उनी जस्तै पाँचजनाको परिवार भएका कमरुद्दिन बेहना, नौजनाको परिवार भएका नुर जहाँ, पाँचजनाको परिवार भएका रज्जावली बेहना लगायत गाउँमा लगभग ५० घरधुरी बाढीबाट प्रभावित भएका छन् । कतिको घर भत्किसकेको छ भने, कतिको भत्किने अवस्थामा छ ।
उक्त क्षेत्रमा रहेका कतिले त दुई/तीन दिनदेखि खानसमेत नपाएको बताए । गाउँ नै पूणर् जलमग्न भएपछि न अन्नपात छ, न सुकिलो ठाउँ नै छ । उनीहरुले ज्यान जोगाउनने मुस्किल भइरहेको बताउँछन् ।
आइतबार गाउँका ५० बढी स्थानीय सहयोगका लागि उप-महानगरपालिका कार्यालयमा पुगेका थिए । तर उनीहरु यसरी पहिलोपटक भने आएका हैनन् । र उनीहरुको यो समस्याका बारेमा सबै निकायलाई पहिलोपटक जानकारी पनि नभएको हैन । तर सबैलाई जानकारी हुँदा हुँदै पनि उनीहरुको समस्या समाधानका लागि सबैतीरबाट आलटार भइरहेको स्थानीयको गुनासो छ ।
स्थानीय जोगेन्द्रप्रसाद यादव यो विपक्ति प्राकृतिक रुपमा नभएर केही व्यक्तिले गर्दा आएको बताउँछन् । वर्षौदेखि पानी निकास हुने स्थानलाई केही व्यक्तिले आफ्नो जमिन हो भनेर पर्खाल लगाएपछि सबै गाउँ नै डुबानमा परेको यादवले बताए ।
ॅबाढी यसरी पहिला आएको थिएन । किनभने पहिला जति पानी परेपनि निकास भइरहेको थियो । तर अहिले गाउँकै मनोज वर्मा र मयाराम वर्माले पानी निकास हुने स्थानमा र बाटो आफ्नो व्यक्तिगत जग्गा हो भनेर पुरै वाल लगाएपछि सबै पानी गाउँभित्र पसेको हो,’ यादवले भने ।
यादवका अनुसार राझा गाउँबाट निकास हुने पानी र बाटो सरकारको नाममा रहेको जग्गा भएतापनि हाल उनीहरुको नाममा आएका कारण उनीहरुले जबरजस्ती पर्खाल लगाएका हुन् । तर यस विषयमा वडा कार्यलयबाट भने खासै चासो नदेखाइएको यादवले गुनासो गरे ।
यहीअघि पनि जग्गा र निकासी सम्बन्धी वादविवाद भएको स्थानीय रज्जवली बेहनाले बताए । उनले भने, ॅ७/८ वर्ष पहिला विवाद पनि भएको थियो । त्यो वर्माहरुले मेरो श्रीमतीको टाउको फुटाएका थिए । अनि एकजना पार्वती चन्दको पनि हात भाच्देका थिए । उनीहरु पैसावाला छन् । हामी कहाँ सक्छौं ?’
यस विषयलाई लिएर नेपालगन्जका मेयर डा. धवल शम्शेर राणाले प्रष्टरुपमा जिल्ला प्रशासनलाई छिटोभन्दा छिटो समस्याको हल गर्न आग्रह गर्दा पनि प्रशासनले अटेर गर्दै आएको स्थानीय नमराज सापकोटाले बताए । सापकोटाका अनुसार मेयर डा. राणा स्वयम् जिल्ला प्रशासन गरेर निमिक्त प्रमुखलाई भेटेर समस्याको समाधानका लागि आग्रह गरेका थिए ।
ॅमेयर साबले सबै फाइल तयार पार्न लगायर जिल्ला प्रशासन पनि पठाउनु भयो । एकपटक समस्या समाधानका लागि पनि आग्रह गर्नु भयो । र फेरी काम नभएपछि आफैं प्रशासन गएर आग्रह पनि गर्नु भएको थियो । तर एक/दुईजनालो गर्दा पुरै गाउँनै समस्यामा पर्दापनि समस्याको समाधान हुन सकेको छैन,’ सापकोटाले भने ।
आइतबार उप-महानगरपालिका आइपुगेका स्थानीयले समस्या समाधन नभए धर्ना दिनेसमेत बताएका छन् । उनीहरुको समस्याबारे बुझ्दै नगर उपप्रमुख उमा थापामगरले फोनबाट जिल्ला प्रशासनमा आजै समस्याको समाधानका गर्दिन आग्रह गरेकी थिइन् ।