तेस्रो लहरविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता
Monday, August 16th, 2021, 8:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३२ साउन
कोभिड- १९ को संभावित तेस्रो लहरको रोकथाममा सहकार्य गर्ने बाँकेका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
सोमबार संवाद समूह बाँकेले आयोजना गरेको कोभीड-१९ को संभावित जोखिम, तयारी र प्रभावकारी उपचार सेवाबारेको अन्तरक्रियात्मक संवादमा स्वास्थ्य सरोकारवालहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
संवादमा चिकित्सक, अस्पताल पदाधिकारी, स्वास्थ्यकर्मी, सुरक्षा अधिकारी, जनप्रतिनिधी र नागरिक समाजका अगुवाहरु सहभागी थिए । कार्यक्रममा सहभागी चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सचेतना, दक्ष जनशक्ति, पुर्वाधार, उपकरणसहितको व्यवस्थापन तथा प्रभावकारी उपचारलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।
भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले संभावित जोखिमको सामना गर्न जनशक्ति, स्रोतसाधानसहितको तयारी अवस्थामा रहेको जानकारी दिए । नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा. सुरेश कनोडियाले महामारीमा निजी स्वास्थ्य संस्थाले पनि सामाजिक उत्तरदायीत्व निर्वाह गरेको बताए ।
नेपाल चिकीत्सक संघ भेरीका अध्यक्ष डा विनोद कणर्ले स्वाथ्यकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउनु पर्ने आवश्यक्ता औल्याए भने नेपालगञ्ज मेडिकल कलेजकी बाल रोग विशेषज्ञ डा. रोमा बोराले कोरोनाको तेस्रो लहर कुन स्वरुपमा आउँछ भन्ने एकिन नभएको भन्दै गर्भवती महिलालाई पनि खोपको व्यवस्थापन गर्नु पर्नेमा जोड दिइन् ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले हाल भेरी अस्पतालमा कोभिडका ५२ जना उपचाररत रहेको जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले स्वास्थ्य संस्था, स्थानीय तह लगायतसँगको समन्वय र सहकार्यमा आवश्यक रणनीतीसहित कार्य गरिने प्रतिवद्धता व्यक्त गरे । नेपालगञ्ज उप-महानगरपालिकाका उपप्रमुख उमा थामामगरले महामारीविरुद्ध आफ्नो जिम्मेवारी सबैले पालना गर्नुपर्नेमा जोड दिइन् ।
नेपाल बार एशोसीयशनका वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठले सम्भावित जोखीममा सचेततासँगै सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख राम सुरेश यादव, भेरी अस्पताल विकास समितका सदस्य एवं नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणीज्य संघका महासचिव चिरञ्जीवी वली, नेपालगन्ज उप-महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, बालमनोवीद सुदिप भट्टराई लगायतले आ-आफनो सुझाव राखेका थिए ।
संवाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गरेको कार्यक्रमको उदेश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलादबहादुर कार्कीले प्रकाश पारेका थिए ।