बाँकेमा पाँच वर्षमा मात्र ३१ प्रतिशत बढ्यो ज्याला
Tuesday, August 17th, 2021, 4:32 pm
Kalpristha
सबैभन्दा बढी सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, ढुंगेकर्मी डकर्मी, रोलर ग्रेडर अपरेटर, वेल्डरको ज्याला बढेको छ । उनीहरुको आर्थिक वर्ष २०७४-७५ को दैनिक ज्यालादरको तुलनामा चालु आर्थिक वर्ष २०७८-७९ को दैनिक ज्यालादर दुई सय रुपैयाँले बढेको छ ।
वीरेन्द्र जैसी
नेपालगन्ज, ३२ साउन
बाँके जिल्लामा विगत पाँच वर्षमा श्रमिकहरुको तलबमा २६ देखि ३१ प्रतिशतसम्म बढोत्तरी भएको छ । जिल्ला दररेट निर्धारण समितिले हरेक वर्ष निर्धाण गर्ने ज्यालाको तथ्यांक तुलना गर्दा ३१ प्रतिशत सम्मले बढोत्तरी भएको पाइएको हो ।
यस अवधिमा सबैभन्दा बढी सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, ढुंगेकर्मी डकर्मी, रोलर ग्रेडर अपरेटर, वेल्डरको ज्याला बढेको छ । उनीहरुको आर्थिक वर्ष २०७४-७५ को दैनिक ज्यालादरको तुलनामा चालु आर्थिक वर्ष २०७८-७९ को दैनिक ज्यालादर दुई सय रुपैयाँले बढेको छ ।
त्यसपछि अर्धदक्ष कामदार, ढल सफा गर्ने ज्यामी र कुल्लीको दैनिक ज्यालादर बढेको छ । अर्धदक्ष कामदारको ज्यालादर एक सय ९४ एवं ढल सफा गर्ने ज्यामी र कुल्लीको दैनिक ज्यालादर एक सय ७१ रुपैयाँले बढेको पाइएको छ ।
यसैगरी, खानीमा काम गर्ने भरिया वा अगडिगर, रोलर ग्रेडर हेल्पर, चेन मन एवं सर्वे हेल्पर, क्लिनर, स्प्रे मेन, क्याम्प वर्कर, चौकिदार र कुचिकारको दैनिक ज्यालादर पाँच वर्षमा एक सय ६० रुपैयाँले बढेको छ ।
यसवर्ष बढेको ज्यालाका आधारमा सबैभन्दा बढी दैनिक ज्यालादरसिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, ढुंगेकर्मी डकर्मी, रोलर ग्रेडर अपरेटर, वेल्डर अर्धदक्ष कामदार, ढल सफा गर्ने ज्यामी र कुल्लीको रहेको छ । उनीहरुको दैनिक ज्यालादर आठ सय ४० रुपैयाँ रहेको छ । उनीहरुको पाँच वर्षअघिको ज्यालादर ६४० रुपैयाँ रहेको थियो ।
यसवर्ष पनि बढ्यो १० देखि ९० रुपैयाँ
गत आर्थिक वर्ष २०७७-७८ को तुलनामा चालु आर्थिक वर्षमा पनि १० रुपैयाँदेखि ९० रुपैयाँसम्म ज्यालादर बढेको छ । सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, ढुंगेकर्मी डकर्मी, रोलर ग्रेडर अपरेटर, वेल्डर, ढल सफा गर्ने ज्यामी र कुल्लीको दैनिक ज्यालादर ९० रुपैयाँले बढेको छ । अर्धदक्ष कामदारको ८४ र अन्य कामदारको ६५ रुपैयाँले ज्याला बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा अधिकांश श्रमिकको दैनिक ज्यालादर पाँच रुपैयाँले मात्रै बढेको थियो । गेजरिडर, सहायक वेल्डर, ढल सफा गर्ने ज्यामी, कुल्लीको ज्याला उक्त वर्ष बढेको थिएन । रोलर ग्रेडर हेल्पर, चेन मन एवं सर्वे हेल्पर, क्लिनर, स्प्रे मेन, क्याम्प वर्कर, चौकिदार, कुचिकार र सामाजिक परिचालकको दैनिक ज्यालादर पाँच रुपैयाँले मात्रै बढेको थियो ।
सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, ढुंगेकर्मी डकर्मी, रोलर ग्रेडर अपरेटर, वेल्डर अर्धदक्ष कामदार दैनिक ज्यालादर भने ३० रुपैयाँले बढेको थियो ।