सामाजिक जवाफदेहिता प्राथमिकतामा छ : उपाध्यक्ष विक
Tuesday, August 17th, 2021, 5:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ भदौ
खजुरा गाउँपालिकाले सामाजिक जवाफदेहितालाई प्राथमिकतामा राखेको जनाएको छ । सामाजिक जवाफदेहिताका औजारलाई प्रयोग गर्दै सेवा प्रवाह गरिरहेको गाउँपालिकाले जनाएको हो ।
खजुरामा मंगलबार आयोजित बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्चको बैठकमा पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले सो कुरा बताएका हुन् । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले सुशासन र पारदर्शिताको औजारलाई प्रयोग गर्दै अगाडि बढेको बताए ।
उनले सबै स्वास्थ्य शाखाहरुको सामाजिक परीक्षण, खजुरामा सार्वजनिक सुनुवाईलाई निरन्तर संचालन गर्दै आइरहेको जानकारी दिए । कार्यक्रममा उपप्रमुख एकमाया विकले स्थानीय सरकारको दायित्व नै जवाफदेहिता भएको बताइन् ।
जनप्रतिनिधि मात्र नभई स्थायी सरकारको रूपमा रहेका कर्मचारी जिम्मेवार र जवाफदेही हुनु पर्ने बताउँदै उनले सरकारले नीति, ऐन कार्यक्रम बनाउने र कार्यान्वयन कर्मचारीले गर्ने कुरामा जोड दिइन् । विषयगत ६ वटा समिति बनाइएको सबै शाखाहरुबाट पनि कामहरु भइरहेकोमा तुलनात्मक रूपमा खजुरा उत्कृष्ट रहेको उपाध्यक्ष विकले दावी गरिन् ।
उनले यसमा सबैको भूमिका छ अहिले नयाँ व्यवस्था भएकोले सिकाइमा बित्यो राम्रो भित्र धेरै कमजोरी छ आगामी दिनमा सुधार गर्ने कुरामा उनको जोड थियो । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले योजनामा सहभागिताको कुरा, जनगुनासो व्यवस्थापन गर्ने, बजेट नीति कार्यक्रम वेबसाईटमा राख्ने गरेको, सार्वजनिक सुनुवाई गर्दै आएको र आएका गुनासाको सम्बोधन गर्ने गरिएको बताए ।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनार, सामाजिक विकास संयोजक फत्तेकुमारी जैसी, योजना प्रमुख दिलबहादुर पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडललगायतले सामाजिक जवाफदेहिता, सुशासनका कुरालाई औजारका रुपमा कार्यान्वयनमा लिँदै आएकोमा जोड दिए ।
प्याक्ट नेपालको सहजीकरण र खजुरा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा प्याक्ट नेपालका प्राविधिक दुर्लभ कुमार बोगटीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्याक्ट नेपालका प्रोग्राम म्यानेजर अस्मिन भट्टराईले सामाजिक जवाफदेहितामा नागरिकको गुनासो महत्त्वपूणर् हुने बताए । प्याक्ट नेपालका स्थानीय संयोजक मन भण्डारीले बैठकको संचालन तथा सहजीकरण गरेका थिए ।