एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा स्थगित
Tuesday, August 17th, 2021, 5:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ भदौ
विपक्षी नेकपा एमालेको अवरोधका कारण लुम्बिनी प्रदेश सभाको नवौं अधिवेसन अन्तर्गत पहिलो बैठक सुरु हुन नपाउँदै स्थगित भएको छ । निर्धारित समय भन्दा डेढ घण्टा ढिला सुरु भएको प्रदेश सभा बैठक प्रमुख विपक्षी एमालेले अवरोध गरेपछि सभामुख पूणर्बहादुर घर्तिले बुधबार दिउसो १ बजेम्मको लागि बैठक स्थगित गरेका हुन् ।
बैठक अघि एमालेले सुर्य चिन्ह लिएर चुनाव जितेका दाङकी विमलाकुमारी खत्री वली र नवलपरासीका अजय शाहीलाई कारवाही गर्न भन्दै सभामुखलाई पत्र बुझाएको थियो ।
बैठक सुरु हुने बित्तिकै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेको संसदीय दलको ह्वीप उल्लंघन गर्ने र विधान विपरित गतिविधी गर्ने आफ्ना २ सांसदलाई कारबाही गरिएको सुचना पढेर सुनाउन माग गरे । सभामुख पूणर्बहादुर घर्तिले कारबाहीको पत्र सचिवालयले प्रक्रिया अनुसार अघि बढाउने बताएका थिए ।
त्यसपछि एमालेका सांसदहरुले उठेर लगातार टेबुल ठोकेका थिए । विपक्षी सांसदले टेबुल ठोकिरहँदा सभामुखले प्रदेश सभा आह्वान भएको र लुम्बिनीमा नयाँ मन्त्रिपरिषद गठन भएको जानकारी प्रदेश सभालाई गराएर बुधबार दिउसो १ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए ।