एमालेले गर्यो माधवसहित १४ सांसदलाई कारबाही
Tuesday, August 17th, 2021, 5:47 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १ भदौ
सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगत्तै नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।
वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कणर्, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी कारबाहीमा परेका छन् । उनीहरुलाई कारबाही गरेकाले पदमुक्त गर्न भन्दै एमालेले संसद सचिवालयमा पत्र पनि पठाएको छ ।
यसबारे सभामुख अग्निप्रसाद सापकोटाले निणर्य गर्नुपर्छ । संसदको अधिवेशन चालु भएको अवस्थामा सभामुखले संसदमै पदमुक्त भएको जानकारी गराउँछन् । संसद नभएको अवस्थामा सूचना टाँसेर पनि जानकारी गराउने गरिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले ह्वीप उल्लंघन गरेका सांसदलाई सम्बन्धित दलले कारवाही गरी निस्काशित गर्नसक्ने व्यवस्था गरेको छ । संविधानको धारा ८९ मा कुनै दलले आफ्नो सांसदले दल त्याग गरेको सूचित गरेमा त्यो पद रिक्त भएको मानिने व्यवस्था छ । यही प्रक्रिया पूरा गर्न एमालेले ती सांसदहरुलाई गत साउन ६ गते स्पष्टीकरण सोधेको थियो ।