नयाँ पार्टी गठन गर्ने माधवको घोषणा
Tuesday, August 17th, 2021, 7:27 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १ भदौ
दल विभाजनका लागि सरकारले अध्यादेश जारी गर्ने निणर्य गरेपछि एमाले नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् । आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब नयाँ अभ्यासमा जाने उद्घोष गरेका हुन् । उनले एजेण्डा मिल्नेहरूसँग एकताको ढोका भने सधैं खुल्ला राख्ने पनि बताए ।
‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ,’ नेता नेपालले भेलालाई सम्बोधन गर्दै भने, ‘तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’ उनले चुनावमा सिटको तालमेल गरेर जान सकिने र चुनाव पछि पनि भेट हुने सम्भावना भने रहेको उल्लेख गरे । हाललाई पार्टीबाट अलग भएर तत्काल अन्य दलमा आबद्ध नहुने उनको भनाइ थियो ।
उनले देशव्यापी रुपमा संगठन विस्तार गर्न सक्रिय हुन निर्देशन दिँदै भने, ‘हाम्रो सामु समाजवाद छ । परिवर्तनको एजेण्डा छ । क्रान्तिकारी एजेण्डा र संकल्पकासाथ जुट्नुहोस्, कमिटी बनाउन अघि बढ्नुहोस्, सदस्यताको विस्तार गर्नुहोस्, प्रत्येक वडावडामा बुझ्दै जानुहोस्,’ नेता नेपालले भने, ‘प्रदेश-प्रदेशमा पनि आफ्नो संगठन बनाउन लाग्नुहोस् ।’
उनले घुमाउरो बाटोबाट हिँड्नुपर्ने हुँदा कहिले दायाँ र बायाँ लाग्नुपर्ने अवस्था आउने बताए ।