फुट्यो एमाले, माधवले गरे एमाले समाजवादी गठन
Wednesday, August 18th, 2021, 4:43 pm
Kalpristha
कालपृठ डेस्क
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेलगत्तै प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ गठन गरेका छन् ।
संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण भएको छ ।
नेपाल पक्षले बुधबारै नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।
जसमा नेकपा एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय कमिटीका सदस्यमध्ये ५८ जना रहेका छन् । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।
नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरु भने नयाँ दल गठनसँगै अलगिएका छन् । निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउन नेपालसँग एमालेकालको स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने मात्रै रहेका थिए ।
एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन गरेको कार्यदलमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उप-महासचिव घनश्याम भुसाल, सचिव गोकणर् विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए । तर उनीहरु नेपालको दलमा गएका छैनन् ।