बुधबार पनि लुम्बिनी प्रदेशसभा अवरुद्ध
Wednesday, August 18th, 2021, 4:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ भदौ
लुम्बिनी प्रदेशको प्रतिपक्ष नेकपा एमालको अवराधेका कारण प्रदेश सभाको बैठक दुइदिन लगातार अवरुद्ध भएको छ । एमालेले आफ्ना सांसदलाई गरेको कारबाहीको सूचना सभामा पढेर सुनाउन सभामूख पूणर्बहादुर घर्तीसमक्ष माग राख्दै मंगलबार र बुधबारका दुबै बैठकहरु अवरुद्ध गरेको हो ।
सदन निरन्तर अवरुद्ध भएपछि प्रदेश सभामा अध्यादेश पेश हुन पाएका छैनन् । अधिवेशनको पहिलो बैठकमा प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पदक ऐनलाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने कार्यसूचि भएपनि सदन अवरुद्ध भएका कारण पेश हुन पाएका छैनन् ।
बैठक अवरुद्ध गरेपछि बुधबारको बैठक पनि स्थगित गरिएको सभामूख घर्तीले जानकारी दिए । एमालेले आफ्नो पार्टीबाट चुनाव लडेका दुई सांसदहरु अजयबहादुर शाही र विमला वलीले राजनीतिक दलसम्बन्धी ऐन विपरित काम गरेको भन्दै कारबाही गरेको पत्र सभामुखलाई बुझाइसकेको छ । उक्त पत्र सभामुखले प्रदेश सभामा पढेर नसुनाउँदा सम्म सदन चल्न नदिने अडानमा एमाले रहेको छ ।
बुधबारको बैठकमा प्रतिपक्षका सांसदहरुको नारावाजीका बीच सभामुख घर्तीले कारबाहीको पत्र प्रशासनिक कार्यप्रक्रिया अगाडि बढिरहेकाले अहिले सुनाउन नमिल्ने बताए । उनले प्रतिपक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललाई कारबाहीका लागि थप आवश्यक काजगपत्रहरु समेत पेश गर्न आग्रह गरेको बताए ।
तर, एमालेका सांसदले भने सभामुख निष्पक्ष नभएको भन्दै नाराबाजी गरेका थिए ।