खजुरामा मानव बेचविखन नियन्त्रण गर्न कार्ययोजना
Wednesday, August 18th, 2021, 7:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २ भदौ
खजुरा गाउँपालिकामा मानव बेचबिखन नियन्त्रणका लागि वार्षिक कार्ययोजना निर्माण गरिएको छ । हाम्रो सम्मान परियोजना अन्तर्गत माइती नेपालको सहजीकरणमा स्थानीय मानव बेचविखन नियन्त्रण पालिका र वडास्तरीय समितिमा आवद्धहरुले वार्षिक कार्ययोजना बनाएका हुन् ।
मानव बेचबिखन ओसारपसार नियन्त्रण स्थानीय समिति खजुरा गाउँपालिकाको आयोजनामा २ दिने बार्षिक समीक्षा र योजना बैठक पछि बुधबार कार्ययोजना बनाइएको हो ।
नियमित बैठक, तथ्यांक संकलन, वडास्तरीय मानव बेचबिखन समिति गठन, पुनः गठित समिति र सरोकारवालासंग अन्तरक्रियात्मक कार्यक्रम सन्चालन, पीडित व्यक्तिको उद्दार पुनःस्थापना तथा राहतका कार्यक्रम सन्चालन गर्ने, सचेतनामुलक कार्यक्रम सन्ंचालन, जोखिममा परेकालाई परामर्श दिइने, स्रोत नक्साकंन पुस्तिका प्रकाशन गर्ने, बेचविखन नियन्त्रणबारे माविस्तरीय निबन्ध प्रतियोगिता लगायतका कार्ययोजना बनाइएको छ ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जनतासंग प्रत्यक्ष जोडिएको स्थानीय सरकार भएकाले मानव बेचबिखन नियन्त्रणमा स्थानीय सरकारको महत्वपूणर् भूमिका हुने बताए । मानव वेचविखनको मूख्य कारण गरिबी भएकोले शिक्षा, बेरोजगारी समस्या समाधान गरी गरिबी निवारणबाट मानव वेचविखनमा कमी ल्याउनेमा उनले जोड दिए ।
गाउँपालिका कार्यालय र वडामा समिति निर्माण भएकोले कार्ययोजनामा टेकेर समन्वयबाट काम गर्नुपर्नेमा अध्यक्ष कक्षपतिको जोड थियो । कार्यक्रममा उपाध्यक्ष एकमाया विकले मानवीय चेतना भएन भने बेचबिखन हुन सक्ने भन्दै पहिलो प्राथमिकता चेतना वृद्धि गर्ने हुनु पर्ने बताइन् । रोजगारी र सीप मुलुक कार्यक्रममार्फत रोकथाममा टेवा पुग्ने उनको विश्वास छ ।