लुम्बिनी प्रदेश सभा बैठक ७ गतेसम्म स्थगित
Thursday, August 19th, 2021, 11:35 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ भदौ
लुम्बिनी प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ ।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ । प्रदेश सभा सन्चालन गर्ने विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरेपनि सहमति जुट्न सकेको थिएन ।
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सांसदद्वय शाही र वली आफ्नो दलका भएकाले पार्टीले उनीहरुलाई पदमुक्त गर्ने निणर्य गरेकाले सभामुखले पनि पदमुक्त नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिइने बताए ।
सरकार परिवर्तनपछि देखिएका घटनाक्रमले राजनीतिक गतिरोध सृजना गरेको छ ।
एमालेले कारवाही गर्न माग गरेका सांसदद्वयको समर्थनमा केसी सरकार संविधानको १६८(२) बमोजिम गठन भएको हो । उक्त धारा अनुसार मुख्यमन्त्री केसीले भदौ २६ गतेभित्र विश्वासको मत लिनु पर्छ । तर, एमालेले कारवाही गरेका शाहीले आफू स्वतन्त्र भएको दावी गरिरहेका छन् । उता नेकपाबाट चुनाव जितेकी वलीले भने पार्टी खण्डिकरण भएपछि आफूले माओवादी रोजेकाले एमालेले कारबाही गर्न नपाउने बताइरहेकी छन् ।
विवाद बढ्दै गएकाले नवौं अधिवेशनका सदन निरन्तर अवरुद्ध भइरहेका छन्, यसको असर प्रदेश सभामा अध्यादेश पेश हुन पाएका छैनन् । अधिवेशनको पहिलो बैठकमा प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पदक ऐनलाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने कार्यसूचि रहेको थियो । तर, संसदमा देखिएको गतिरोधले विधेयकहरु पेश हुन पाएका छैनन् ।