बर्दियाबाट बुद्धको पुरातात्विक मूर्तिसहित पाँचजना पक्राउ
Thursday, August 19th, 2021, 4:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ भदौ
बर्दिया प्रहरीले धातुबाट निर्मित बुद्धको मूर्तिसहित पाँचजनालाई पक्राउ गरेको छ । बुधबार दिउसो सदरमुकाम गुलरियास्थित एक होटलमा छापा मारेर पाँचजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद गरिएको मूर्तिको तौल ७ किलो ७०२ ग्राम र उचाइ ९ दशमलव ५ इन्च छ ।

बरामद गरिएको बुद्धको मुर्ति
सयौं वर्ष पुरानो बहुमुल्य धातुको पुरातात्विक बुद्धको मूर्ति करोडौं रुपैयाँमा किनबेच भइरहेको भन्ने सूचनाको आधारमा स्थानीय विजया गेष्ट हाउसको कोठा नम्बर ३२८ मा खानतलासी गर्दा धातुको बुद्धको मूर्तिसहित मानिसहरु फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा बर्दियाको मधुवन नगरपालिका-१ का ३४ वर्षीय उज्ज्वल रोकाय, ९ का ३४ वर्षीय अमृत राई, गुलरिया-७ का ४० वर्षीय निराजन उप्रेती, ठाकुरबाबा नगरपालिका ९ का ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट जिल्लाको वारेकोट गाउँपालिका २ का २९ वर्षीय मगबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।
मूर्ति कहाँबाट ल्याइएको भन्ने बारेमा अझै नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।