आज मोहर्रमको ताजिया विसर्जन गरिँदै
Friday, August 20th, 2021, 10:48 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ भदौ
आज पवित्र पर्व मोहर्रमको ताजिया विसर्जन गर्ने दिन । बाँकेमा इस्लाम धर्मावलम्वीहरुले भौतिक दूरीलगायत कोरोना रोकथाम सम्बन्धी मापदण्डहरुको पालना गर्दै ताजिया विसर्जन गर्ने बताइएको छ ।
मोहर्रम पर्वका मुख्य कार्यक्रममा बिहीबार राती राखिएको ताजियालाई आज शुक्रबार दिउसोपछि नेपालगन्जको फुलटेक्रामा रहेको कर्बला र अन्य स्थानका कर्बलाहरुमा विसर्जन गरेर पर्व सम्पन्न गरिनेछ ।
यसवर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई जुलुसहरूमा जान रोक लगाइएको र जुलुस तथा कार्यक्रममा सहभागी हुने युवा तथा अन्यलाई मास्क अनिवार्य गरिएको उनले बताए । बाँके प्रहरीले पनि मोहरर्रम पर्व शान्तीपूणर् र सुरक्षितरुपमा मनाउन कडा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।
इस्लामी नयाँ“ वर्ष १४४३ हिजरीको सुरुवातसँगै मनाइने मोहर्रमलाई दश दिनसम्म विविध कार्यक्रमहरू गरे मनाइने गरिएपनि यस वर्ष पाँच दिन मात्र मनाइएको केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष फिरोज अहमद हलवाईले बताए ।
इराकको कर्बलामा शहीद भएका पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरुले हरेक वर्ष १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम पर्व मनाउँदै आएका छन् । मुस्लिम समुदायले मोहर्रम पर्वमा सार्वजनिक बिदाको माग गर्दै आएका छन् ।