मोहर्रम शान्तिपूर्ण रुपमा समापन
Friday, August 20th, 2021, 8:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ भदौ
पवित्र पर्व मोहर्रम कोरोना लक्षित सावधानीपूर्वक र शान्तिपूणर्रुपमा सम्पन्न भएको छ । मुस्लिम समुदायले शोकपर्वको रुपमा मनाउने मोहर्रमको अन्तिम दिन शुक्रबार स्थानीय करवलाहरुमा ताजिया विसर्जन गरी सम्पन्न गरिएको हो ।
समुदायले आफ्नो घरमा राखिएका ताजियाहरुलाई बाजागाजाका साथ शुक्रबार दिउँसो ‘या हुसेन’, ‘या हसन’ भन्दै ढोल र नगडाका तालमा नगरको परिक्रमा गराइ ताजिया विसर्जन गरेका थिए । नेपालगन्जमा नगरका विभिन्न भागको परिक्रमा गरेर फूल्टेक्रास्थित करबलामा विसर्जन गरी समापन गरिएको करबला संरक्षण समितिका अध्यक्ष फिरोज आरफीले जानकारी दिए ।
यसवर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई जुलुसहरूमा जान रोक लगाइएको थियो भने र जुलुस तथा कार्यक्रममा सहभागी हुने युवा तथा अन्यलाई मास्क अनिवार्य गरिएको थियो ।
इस्लामी नयाँ“ वर्ष १४४३ हिजरीको सुरुवातसँगै मनाइने मोहर्रमलाई दश दिनसम्म विविध कार्यक्रमहरू गरे मनाइने गरिएपनि यस वर्ष पाँच दिन मात्र मनाइएको केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष फिरोज अहमद हलवाईले बताए ।
इराकको कर्बलामा शहीद भएका पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरुले हरेक वर्ष १० दिनसम्म विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।