पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी
Friday, August 20th, 2021, 8:44 pm
Kalpristha
लिलाधर वली
दाङ, ४ भदौ
दाङमा पोल्ट्रि व्यवसायमा ३ अर्ब बढी लगानी पुगेको छ । पोल्ट्रि व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखराका लागि दानासँगै पछिल्लो समय कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा पनि लगानी बढ्दै गएको हो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी सात सय बढी फर्म तथा उद्योगहरु रहेका छन् । जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब साढे ४ सय फर्म, करिब एक सय दाना सप्लायर्स र अण्डाका लागि करिब १ सय ५० वटा लेयर्सका फर्महरु रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । जसमा ३ अर्ब बढी लगानी रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा. वेदबहादुर केसीले जानकारी दिएका छन् । कार्यालयका अनुसार जिल्लामा करिब साढे चार सय कुुखुरापालन व्यवसाय दर्ता भएर पनि अन्य धेरै व्यवसाय दर्ता नभएरै सञ्चालन भएका छन् ।
कुखुरापालनका लागि दाङ जिल्ला राम्रो वातावरणसँगै मासु तथा अण्डा सप्लायसर्यका हिसाबलेसमेत उपयुक्त ठाउँ भएकाले पोल्ट्री व्यवसायमा लगानी बढेको कार्यालय प्रमुख केसीले बताए । तर पछिल्लो समय कोरोनाका कारण व्यवसायी समस्यामा परेको बताए । ‘छोटो समयमै राम्रो नाफा लिन सकिने व्यवसाय फोल्टी व्यवसाय हो । त्यसैले पोल्ट्रि व्यवसाय राम्रो लगानी छ,’ कार्यालय प्रमुख केसीले भने, ‘तर पछिल्लो समय कोरोनाले व्यवसायीमा असर पुर्याएको छ ।’ कोरोना भाइरसका कारण जिल्लामा व्यवसायीले ठूलो घाटा व्यवहोर्नुपरेको छ । जिल्लामा पोल्ट्रि व्यवसायमा दाङ उपत्यका भन्दा देउखुरी उपत्यकामा बढी लगानी रहेको छ । दाङका विभिन्न स्थानसँगै पहाडी जिल्लाहरुमा समेत कुखुरा, बच्चा, अण्डा पाठाउन सकिने भएकाले धेरै व्यसायीहरुले पोल्ट्रि व्यवसायमा लगानी गरेको कार्यालयले जनाएको छ । अण्डा उत्पादनका हिसावले दाङ देशभरमै चितवन जिल्ला पछि दोस्रो जिल्लाका रुपमा पर्ने गरेको छ । तर कोरोनाका कारण पहिलेको तुलनामा पछिल्लो समय अण्डाको उत्पादनमा समेत गिरावट आएको कार्यालय जनाएको छ ।
कुखरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष चण्दन भण्डारी भने पछिल्लो समय कुखुरापालन गर्ने व्यवसायी घट्दै गएको बताउँछन् । कोरोनाका कारण उत्पन्न भएको संक्रमणकालिन समयमा जिल्लामा करिव ५० प्रतिशत व्यवसायीहरु कुखुरापालन व्यवसायबाट पलायन भएको भण्डारीले बताए । ‘दानाको मुल्य बढ्ने तर व्यवसायीले तयार गरेका कुखुराको मुल्य नबढ्ने, दानाको गुणस्तर मापन गर्ने व्यवस्था नहुँदा अखाद्य दानाका कारण व्यवसायीहरु मारमा पर्ने गरिरहेका थिए,’ सचिव भण्डारीले भने, ‘त्यसमा कोरोना भाइरसका कारण दुुई बर्षको अवधिमा लामो समय लकडाउन हुँदा व्यवसाय क्षेत्रमा पलायन भएका छन् ।’ उनका अनुसार दुई वर्षअघि जिल्लामा साना तथा ठूला लगानीका करिब १२ सय व्यवसायीहरु रहेका थिए । व्यवसायीहरु मारमा पर्नुको अर्को समस्या भारतबाट कुखुरा तस्करी हुनुसमेत रहको उनले बताए ।