साहित्यकार किरण आचार्यसँग पठन वार्ता
Saturday, August 21st, 2021, 2:39 pm
Kalpristha
त्यस्तो व्यक्तिलाई भरोसा नगर जसले आफ्नो साथमा कुनै पुस्तक ल्याएको हुँदैन । – लेमनी स्निकेट (अमेरिकी उपन्यासकार)
पुस्तक पठन संस्कारबारे कालपृष्ठको संवाद श्रृंखला ‘पठन वार्ता’को दोस्रो अंक साहित्यकार, पूर्व प्रधानाध्यापक, शिक्षासेवी एवं शिक्षाविद् ‘किरण आचार्य’सँग ।
१. तपाईंको रोजाईमा कस्ता पुस्तक पर्छन् ?
म साहित्यको विद्यार्थी भएको नाताले सहित्यिक पुस्तकहरू रोजाईमा पर्ने भैहाले । त्यसबाहेक दर्शन र धर्मसँग सम्बन्धित पुस्तकहरू पनि पढ्ने गरेकी छु । मैले सबै धर्मका ग्रन्थ पढेकी छु । तर विशेषगरी हिन्दु धर्मका ग्रन्थहरूमा पछिल्लो समय चासो बढ्दै गएको छ ।
२. अहिले के पढिरहनुभएको छ ?
अहिले मैले महाभारतको अध्ययन गरिरहेकी छु ।
३. यसभन्दा ठ्याक्कै पहिला के पढ्नुभयोे ?
यस अघि मैले सांख्य दर्शन पढें ।
४. त्यसको उल्लेखनीय पक्ष के थियो ?
सांख्य दर्शनमा पन्च ज्ञानेन्द्रिय र पंचकर्मेन्द्रिय, पंचमहाभूत र पंचतनमात्राको कुरो छ । पंचमहाभूत र पंचतनमात्राको सम्बन्ध, पुरुष र प्रकृतिको सम्बन्ध, सृष्टिको सृजना कसरी भयो? भन्ने कुरा सांख्य दर्शनले बताउँछ ।
५. अब के पढ्ने तयारीमा हुनुहुन्छ ?
अब पढ्ने तयारीमा रहेको पुस्तक.. फेरि एकपटक गीता पढ्ने हो । अर्को भगवान विष्णुको बारेमा अध्ययन गर्दैछु । अरु भगवानहरुको बारेमा पनि मैले अध्ययन गर्दै छु ।
६. अहिलेसम्म कति पुस्तक पढ्नुभयो होला ?
कति पढें हुँला…. करिब दुई हजार ।
७. घरमा पुस्तकालय छ ?
पुस्तकालय छ ।
८. पुस्तकालयमा पुस्तक कति होलान् ?
चारवटा र्याक भरिभराउ छ । संख्या ठ्याक्कै गनेकी छैन ।
९. तपाईंको पुस्तकालयमा भएको सबैभन्दा प्रिय पुस्तक कुन हो ?
सबभन्दा प्रिय पुस्तक गीता हो ।
१०. किन प्रिय भएको ?
गीता त मनुष्यको लागि पूणर् ज्ञान भएको पुस्तक हो ।
११. पुस्तकमा अहिलेसम्म कति खर्च गर्नुभयो होला ?
हिसाब त गरेकी छैन । वर्षमा करिब चार पाँच हजार किताब किन्नमा खर्च गर्छु ।
१२. तपाईंले हालसम्म पढेको सबैभन्दा उत्कृष्ठ लागेको पुस्तक चाहीँ कुन हो ?
गीता नै हो सबैभन्दा मन परेको । साहित्यिक पुस्तक भन्नुहुन्छ भने एकजना विदेशी लेखकले लेखेको ‘जस्टिस’ ।
१३. ‘जस्टिस’मा उल्लेखनीय के छ ?
मेरो मान्यता के छ भने, पुस्तकले समाजमा कुनै सकारात्मक प्रभाव पार्न सक्यो भने त्यो सफल साहित्य हो । जस्टिसको प्रभावमा लेखकको देशमा कानुनमा सकारात्मक परिवर्तन भएको थियो । त्यसको प्रभाव हाम्रो देशको कानुनमा पनि परेको छ ।
१४. पढ्न चाहेर पनि पढ्न नपाएको वा नभेटेको पुस्तक कुनै छ ?
पढ्न खोजेर पनि नपाएको पुस्तक नासदीय सूक्त र चार्वाक दर्शन हो ।
१५. तपाईंको लागि पुस्तकको महत्व के हो ?
मानिसको जीवन भोगाई आफैंमा एउटा ज्ञान हो । तर हामीले नजानेको पनि अथाह ज्ञान छ । त्यो अथाह ज्ञानमध्ये केही ज्ञान हामीले जान्नु आवश्यक छ र जान्न सक्छौं । जुन कुरा पुस्तकबाट नै संभव छ । त्यो ज्ञान थाहै नपाई किन मर्ने ?