अढाई वर्षपछि कोसेलीघर व्यवस्थित
Saturday, August 21st, 2021, 1:16 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, ४ भदौ
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ स्थित जयबागेश्वरी मावि हुँदै बागेश्वरी मन्दिर जाने बाटो छेउमा एउटा घर छ । जहाँ हातैले बनाएका पोतेका विभिन्न आइटम, दाल, मस्यौरा, घ्यु, मह, ओखर, थारु हस्तकलाका विभिन्न आइटमहरु सजाएर छन् । बाहिरपट्टि बोर्डमा लेखिएको छ, कोसेली घर । उक्त कोसेली घरमा क्वाँटी प्याकिङ गर्दै गरेको अवस्थामा भेटिइन् नेपालगन्जकी उद्यमी निर्मला गौतम । उनले घरैमा बनाएका मस्यौरा समेत उक्त कोसेली घरमा राखेकी छन् । महिला उद्यमी संघ बाँकेकी पूर्व अध्यक्षसमेत रहेकी गौतमले कोसेली घर सबै घरेलु उद्यमीहरुको साझा थलो बन्ने चरणमा रहेको बताइन् ।
थारु हस्तकला उद्यमी एवं पन्चशील हस्तकला केन्द्रकी अध्यक्ष निरु चौधरी उप-महानगरपालिकाले कोसेली घर स्थापना गर्नु र त्यसलाई स्थायी रुप दिनु सबै उद्यमीका लागि खुसीको कुरा भएको बताउँछिन् । उनी नेतृत्वको हस्तकला केन्द्रका महिला उद्यमीहरुले उत्पादन गरेका थारु हस्तकलाका ढकिया लगायतका सामग्रीहरु पनि कोसेली घरमा राखिएको छ । ‘अहिले मानिसहरुलाई थाहा नभएर हो कि कोसेली घरबाट ठूलो मात्रामा सामानहरु बिक्री भने भएका छैनन् । मानिसहरुले जानकारी पाए भने भविष्यमा आफ्नो छुट्टै पसल वा बिक्री गर्ने ठाउँ नभएका र सानो लगानीबाट उद्यम सुरु गरेका महिलाहरुका लागि कोसेली घर महत्वपूणर् साबित हुन्छ,’ उनले भनिन् ।
स्थानीय सरकार गठनपछि स्थानीय उत्पादनहरुको बजारीकरणमा सरकारको दायित्व पूरा गर्ने योजनाका रुपमा अघि सारिएको थियो कोसेली घरको अवधारणा । सोही अवधारणमा आधारित भइ नेपालगञ्ज उप-महानगरपालिकाको सहयोगमा २०७६ सालको वैसाख महिनामा उद्घाटन गरिएको थियो कोसेली घर । तर यसबिचमा कोसेली घरले व्यवस्थित भवनको अभाव र कोरोनाका कारण उदेश्यअनुसारको सफलता प्राप्त गर्न सकेन । अढाई वर्षपछि आएर बल्ल घर व्यवस्थित बनेको छ । अहिले कोसेली घरको आफ्नै एकतले भवन बनेको छ । एक कठ्ठा २० धुरको आफ्नै जमिनमा स्थापना भएको कोसेली घरले अब स्थायित्व प्राप्त गरेको छ । घरमा चाडै बिग्रने उत्पादनहरु राख्नका लागि फ्रिजरको पनि व्यवस्था गरिएको छ ।
उद्घाटन भएपछिका करिब अढाई वर्षमा कोसेली घर व्यवस्थित भवनको अभाव र कोरोनाका कारण प्रभावकारी बन्न सकेको थिएन । महिला उद्यमी संघ (विन) बाँकेले सन्चालनको जिम्मा पाएको उक्त कोसेली घरलाई विशेषगरी महिला उद्यमीले घरमा उत्पादन गरेका हस्तकलाका साथै घरेलु उद्योगका उत्पादनहरु बिक्रीवितरण गर्ने स्थलका रुपमा विकास गरिँदै छ ।
कोसेली घरको भौतिक निर्माणका लागि हालसम्म घरेलु तथा साना उद्योग कार्यालयले एकपटक १५ लाख र अर्कोपटक १० लाख गरी २५ लाख रुपैयाँ विनियोजन गरेको छ भने नेपालगन्ज उप-महानगरपालिकाले पाँच लाख नगदसहित भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको थियो ।
कोसेली घरबाट जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादन भएका अर्गानिक र हस्तकलाका सामग्री बिक्री वितरण गर्ने उदेश्य राखिएकोे भएपनि हालसम्म ग्रामीण क्षेत्रका महिलाहरुलाई जोड्ने काममा भने असफल रहेको पाइएको छ । विन बाँकेका प्रथम उपाध्यक्ष सावित्रा बस्नेत ग्रामीण क्षेत्रका उद्यमीहरुलाई कोसेली घरसँग जोड्न संघले प्रयास गरेको तर घर नै व्यवस्थित हुन नसकेको र कोरोनाका कारण अपेक्षित सफलता प्राप्त गर्न नसकिएको बताउँछिन् । ‘हामीले पटक-पटक ग्रामीण क्षेत्रका उद्यमीहरुलाई जोड्ने प्रयास पनि गरेका छौँ । सुरुमा केही महिना हामीले ग्रामीण क्षेत्रका दाल, हस्तकलाका सामान लगायत उत्पादनहरु ल्याएर राख्यौँ । त्यसले राम्रो मार्केट पनि लिएको हो । फेरि बिचमा भवन व्यवस्थित गर्नतिरै समय खर्च भयो । कोरोनाले पनि सोचेजस्तो हुन पाएन । उनले भनिन् ।’
अब संघको ध्यान ग्रामीण क्षेत्रका बढीभन्दा बढी उद्यमीहरुलाईै कसरी जोड्ने भन्नेमा नै केन्द्रित हुने उनले बताईन् ।
उत्पादनको अग्रीम भुक्तानी दिने व्यवस्था हुनुपर्ने
हाल कोसेली घरमा उत्पादनहरु राख्नका लागि उद्यमीहरुले नाम र उत्पादाको विवरण दर्ता गराउनुपर्छ । कोसेली घरमा राखेको उत्पादन बिक्री भइसकेपछि मात्रै उद्यमीहरुले भुक्तानी पाउँछन् । त्यसमा पनि बिक्रीको १० प्रतिशत रकम कोसेली घर सन्चालन खर्चस्वरुप बुझाउनुपर्छ । यद्धपि उक्त शुल्क साना र तिर्न नसक्ने उद्यमीहरुका लागि अनिवार्य नभएको प्रथम उपाध्यक्ष बस्नेत बताउँछिन् । तैपनि यसले कोसेली घरप्रतिको उद्यमीहरुको आकर्षणमा कमि ल्याउन सक्ने उनको भनाइ छ । त्यसकारण सरकारले उद्यमीहरुको न्यूनतम उत्पादन खरिद गरिदिने व्यवस्था गरेमा कोसेली घरको प्रभावकारिता बढेर जाने उनको बुझाइ छ ।
‘यसबारेमा हामीले नगरपालिकामा प्रपोजल बुझाइसकेका छौँ । उद्यमीहरुको न्यूनतम उत्पादनको अग्रीम भुक्तानी दिने हो भने सानो लगानीबाट सुरु गरेका उद्यमीहरुलाई बजारको सुनिश्चितता र हौसला मिल्छ । त्यसले उत्पादनमा पनि वृद्धि हुन्छ र राज्यले दायित्व पूरा गरेको पनि प्रष्ट अनुभूति हुन्छ,’ बस्नेतले भनिन् ।
विनका लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा पराजुली पनि राज्यले सानो लगानीका उद्यमीहरुलाई हौसला दिन र आफ्नो दायित्व निरन्तर निर्वहन गर्नेगरी नीति बनाउनुपर्ने बताउँछिन् । साथै कोसेली घर सन्चालनका लागि निश्चित बजेटको पनि स्थायी व्यवस्था हुनुपर्ने उनको धारणा छ ।
नेपालगन्ज उप-महानरपालिकाले चालू आवमा पाँच लाख रुपैयाँ कोसेली घरका लागि विनियोजन गरेको छ ।