निर्माणाधीन सडक १ महिनामै भत्कियो
Saturday, August 21st, 2021, 5:21 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, ५ भदौ
जानकी गाउँपालिकामा रहेको बाइपास सडक निर्माणाधीन अवस्थामा नै भत्किन सुरु भएको छ । पालिकाको पिप्राहवा चोकदेखि खजुरा नहर चोकसम्म निर्माण हुन लागेको सडक आधा सम्पन्न नहुँदै ठाउँ–ठाउँमा भत्किन सुरु भएको हो ।
जानकी गाउँपालिका–६, कपासीका इस्माइल खाँ बाटो सानो र गुणस्तरहीन निर्माण भएकाले भत्किन सुरु भएको बताउँछन् । खाँ भन्छन्, ‘यो बाटो बलियो छैन । सानोपनि छ । देखाउनका लागिमात्र पिज बाटो बनाएछन् ।’
निर्माणाधीन उक्त सडक जानकी गाउँपालिका कार्यालयअन्तर्गत चार करोड ६१ लाख ५१ हजार पाँच सय ७९ रुपैयाँमा अमर–सिस्ने जेभीले निर्माण गरिरहेको छ । कूल सात दशमलव दुई किलोमिटर निर्माण गर्नुपर्ने उक्त सडकको सम्पनन् मिति भने २०७८ फागुन १ गतेको रहेको छ । तर सडक निर्माणकै क्रममा सडकका विभिन्न स्थान भासिएको अवस्थामा रहेको छ ।
वडा नम्बर ६ का स्थानीय जनदिशप्रसाद हरिजन जनप्रतिनिधि र ठेकेदार कम्पनीको लापरबाहीका कारण जनताले दुःख पाएको बताउँछन् । उनले निर्माणाधीन उक्त सडक मात्र एक सवारीसाधन गुड्नेगरी बनाइएको आरोपसमेत लगाए ।
‘यहाँ अम्बे स्टील, सिमेन्ट कारखाना जस्ता ठूला–ठूला उद्योगहरु छन् । खजुरा, बर्दियाका लागि जाने बाइपास पनि यहिँ हो । तर ठेकेदार, जनप्रतिनिधिहरुको चरम लापरबाहीले अहिले यो बाटो काम नलाग्ने अवस्थामा पुगेको छ,’ हरिजनले भने । उनी उक्त बाटो सानो बनाएका कारण दैनिक जसो दुर्घटनाको जोखिम निम्तिरहेको बताए । हरिजन बाटोमा एउटामात्र टिप्पर गुड्दा मोटरसाइकल, साइकलवालालाई हिड्नेनै ठाउँ नरहने बताउँछन् ।
निर्माण कम्पनीले हालसम्म करिब दुई किलोमिटर बढी सडक कालोपत्रे गरिसकेको भने हाल निर्माण कार्य बन्द गरिएको छ । तर उक्त दुई किलोमिटर सडकका धेरैजसो स्थानका कालोपत्रे भासिएर माटोमा मिलान भई सकेको छ । हाल सडकको अवस्था हेर्दा एक महिनाभित्र सडकका धेरैजसो भाग जीर्ण अवस्थामा पुग्ने पूर्व गाविस अध्यक्ष (साविक गनापुर गाविस) दुखीराम लोनियाले बताए ।
‘यो सडकमा चरम लापरबाही र भ्रष्ट्राचार भएको छ । यस्तो पनि बाटो हुन्छ । यो बाटो पिज भएको एक महिना जति भयो । एक महिनामै बाटो बिग्रिसकेको छ,’ लोनियाले भने । उनीले पालिकाले जनतलाई अन्तविश्वासमा राखेर काम गरिरहेका बताए ।
लोनिया भन्छन्, ‘हामीलाई पालिकाबाट कुनै किसिमको सूचना प्रदान हुँदैन । नत यो बाटोका बारेमा नै हामीलाई केही जानकारी छ । कति बजेट आएको हो । कहाँबाट आएको हो । कसैलाई केही थाहा छैन ।’
वडा नम्बर ५ का स्थानीय छब्बन खाँ पालिकामा चुनाव जितेर आएलगत्तै जनप्रतिनिधिले भ्रष्टाचार सुरु गरेको आरोप लगाउँछन् । पालिकाले कुनैपनि सूचनालाई गुपचुपमानै गर्ने गरेको उनले आरोप लगाए ।
‘गाउँपालिकामे सबलोग मिले हुँए हेँ । सार्वजनिक सुनुवाईमे भि किसिको बोल्ने नहि देतेँ । यस रोडमे भि बस एक ईन्च ढलान किया हुवा हेँ,’ खाँले भने ।
उनले गाउँपालिकामा तीन–चारपटक खबरदारी र सूचनाको माग गर्दापनि पालिकाले सूचना नदिएको आरोप लगाएका छन् ।