सांसदलाई पदमुक्त नगर्ने सचिवालयको निर्णय
Sunday, August 22nd, 2021, 3:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ६ भदौ
एमालेले कारबाही गरेका लुम्बिनी प्रदेश सभाका २ सांसदलाई पदमुक्त गर्न नमिल्ने लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ ।
एमालेले प्रदेशका २ सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही गर्न नमिल्ने भन्दै सचिवालयले एमालेलाई पत्र पठाएको छ ।
दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाएको थियो । पत्र बुझ्दै सभामुख पूणर्बहादुर घर्तीले पत्रअनुसार अध्ययन गरेर प्रक्रिया अघि बढाउने बताएका थिए ।
एमालेले कारबाही गरेर पदमुक्त गर्न भनेका सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठाएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
उनका अनुसार एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको ब्यहोरा एमालेलाई जानकारी गराइएको हो । प्रदेश सभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएको उनले बताए ।
समामूखले पदमा बसिरहन मिल्दैनः एमाले
सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले सभामूखको भूमिकाप्रति आपत्ति जनाएको छ । एमालेले पत्रकार सम्मेलन गरी सभामुखले आफ्नो क्षेत्राअधिकारभित्र नपर्ने विषयमा चासो दिएको बताएको हो ।
एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सभामुखको भूमिका पदीय आचरणभन्दा बाहिर गएर न्यायाधीश जसरी भूमिका निर्वाह गरेको बताए ।
शाही र घर्तीलाई पार्टीबाट निष्काशन गरेको जानकारी तथा सो कार्यान्वयनका लागि अनुरोध गरेर पत्र पठाइए पनि सभामुखले स्वेच्छाचारी निणर्य गरेको एमालेको आरोप छ ।
यस्तै एमालेले जबसम्म विमला वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म संसद् अवरुद्ध गर्ने आन्दोलन जारी रहेको जनाएको छ ।