चितुवाको छाला र कस्तुरीको बिनासहित ५ जना पक्राउ
Monday, August 23rd, 2021, 4:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ७ भदौ
दाङमा प्रहरीले प्रतिबन्धित वन्यजन्तु चितुवाको छाला र कस्तुरीको बिनासहित ५ जनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुरबाट दाङतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको कारलाई लमही नगरपालिका-९अमेलियामा चेकजाँच गर्ने क्रममा २ वटा साना र एउटा ठुलो गरी ३ वटा चितुवाको छालासहित तीन जनालाई प्रहरीले शनिवार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैतडी जिल्ला पाटन नगरपालिका-६ निवासी २० वर्षीय गाडी चालक विमल औजी, सोही ठाउँ निवासी २८ वर्षीय प्रदिपकुमार विक र सोही ठाउँ निवासी २० वर्षीय हेमन्त औजी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्र काफ्लेले जानकारी दिएका छन् ।
प्रहरी उपरिक्षक काफ्लेका अनुसार उनीहरुको साथबाट प्रहरीले एउटा ठुलो चितुवा र दुई वटा चितुवाको बच्चाको छाला, सुजुकी कम्पनीको एउटा कार र दुई थान मोवाइल नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ । उनका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
बरामद कस्तुरीको बिना
त्यसैगरी प्रहरीले प्रतिबन्धित कस्तुरीको बिना ओसारपसार तथा विक्रिवितरणमा संलग्न रहेको आरोपमा दुई जनालाई आइतबार घोराहीबाट पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१५ सहिदगेट स्थित ‘होटेल टुडे प्लाजा’को कोठा नं. २ मा लुकाईछिपाई राखेको अवस्थामा बिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका-७ निवासी ३३ वर्षीय मोहन बुढा र प्युठान जिल्ला प्युठान नगरपालिका-१ निवासी २२ वर्षीय मदन केसी रहेका छन् ।
‘प्रतिबन्धित कस्तुरीको बिनाको बिक्रिका लागि होटेलमा डिल भैरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीलले उनीहरुलाई पक्राउ गरेको हो,’ प्रहरी प्रमुख काफ्लेले भने, ‘अहिले कस्तुरीको बिनासहित पक्राउ परेका अभियुक्तमाथि थप अनुसन्धान भैरहेको छ ।’ पक्राउ परेका ५ जनाका विषयमा थप अनुसन्धान भैरहेको र आवश्यक अनुसन्धानपछि वन डिभिजन कार्यालय दाङमा बरामद समानसहित उनीहरुलाई बुझाईने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एव प्रबक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । दाङमा प्रहरीले सक्रियता बढाएसँगै प्रतिबन्धित बन्यजन्तुको तस्करीमा संलग्नहरु पक्राउ पर्ने क्रम बढ्दै गएको छ । प्रहरीले गत साउन महिनामा बाँघको छाला, जरायोको सिङ, रेडपाण्डको छाला बरामद गरेको थियो ।