मुख्यमन्त्री केसीले पाए विश्वासको मत
Monday, August 23rd, 2021, 5:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ७ भदौ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेश सभामा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा ४२ सांसदले मत दिए भने विपक्षमा कुनै सांसदले मत दिएनन् । तर ३७ जना सांसद मत विभाजन प्रकृयामा नै समावेश नै भएनन् । प्रदेश सभामा ८० जना सांसदहरु रहेका छन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा १ अनुसार केसीले प्रदेश सभामा पेश गरेको विश्वासको मत प्रस्तावको पक्षमा बहुमत पुगेकाले प्रतिनिधि सभाको विश्वास रहेको सभामुख पूणर्बहादुर घर्तीले प्रदेश सभामा जानकारी दिए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले केसीलाई मत दिएका थिए । तर, प्रतिपक्ष नेकपा एमालेले बैठक बहिस्कार गरेका कारण पार्टीका ३७ सांसद मत विभाजनमा उपस्थित भएका थिएनन् ।
मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का १८, जनता समाजवादी पार्टी (जसपा)का ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ सांसदले मत दिएका छन् ।
एमालेले प्रदेश सभाको नवौ अधिवेशनको तेश्रो बैठकमा नाराबाजी गरेपछि केहीबेरमै स्थगित भएको थियो । एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ ।