लागूऔषध कारोबारी पक्राउ
Monday, August 23rd, 2021, 7:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ भदौ
बाँके प्रहरीले एकजना लागूऔषध कारोबारी महिलालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार दिउसो नाम्खा गाउँपालिका–१ की ३९ वर्षीय खण्डु तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले नेपालगन्ज उप–महानगरपालिका–४, बसपार्कबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ६ ग्राम लागूऔषध र एक हजार पाँच सय १५ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको हो ।
त्यसैगरी बर्दिया प्रहरीले पनि लागूऔषध कारोबारी एकजना पुरुषलाई पक्राउ गरेको छ । सोमबार गुलरिया नगरपालिका–२ खैरापुरका ३५ वर्षीय अकलेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा नेपालगन्जबाट लागूऔषध ब्यूरो र बर्दिया प्रहरीको संयुक्त टोलीले गुलरिया बजार सहिद पार्क नजिकैबाट बा ८५ प ९८२८ नम्बरको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको हो ।
शंकास्पद रुपमा रहेका यादवको मोटरसाइकल रोकी प्रहरीले खानतलासी गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले खानतलासी गर्दा यादवको साथबाट ३० वटा साना–साना पुरिया बनाई राखेको लागूऔषध ब्राउन सुगर फेला पारेको हो । उनको साथबाट २७ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका यादव लागु औषधको कारोबारी रहेको खुल्न आएको छ ।