कान्ती ताल निर्माण अन्तिम चरणमा
Tuesday, August 24th, 2021, 5:30 am
Kalpristha
वरिपरि ७ मिटर फराकिलो सडक निर्माण गरिएको छ । सडकछेउमा दुवैतिर २ मिटर चौडाईको फुटपाथ बनाइएको छ । यसैगरी तालको प्रवेशद्धारामा गेट निर्माण गरिएको छ भने सडक छेउमा नाली निमाण गरिएको छ । तालपट्टिको फुटपाथमा ‘इन्टरलक टायल’ बिछ्याइँदै छ । संरचना निर्माणपछि ताल आकर्षक बनेको छ ।
वीरेन्द्र जैसी
नेपालगन्ज, ७ भदौ
नेपालगन्जको सयौँ वर्ष पुरानो ताल हो, कान्ती ताल । नेपालगन्ज उपमहानगरपालिका-२२ को पुरैनी र वडा-२१ को पुरैनामा पर्ने कान्ती ताल केही वर्ष पहिलेसम्म फोहोर फाल्ने ठाउँको रुपमा रहेको थियो । यद्धपि उक्त तालको केही स्थानबाट कुम्हाल समुदायले माटाका भाडा बनाउने माटो पनि निकाल्दै आएका थिए । तर २५ बिघा क्षेत्रफलमा रहेको उक्त ताल अनुपयोगीरुपमा रहेको थियो । नेपालगन्ज उप-महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि उक्त ताललाई नयाँ जीवन दिने योजना सुरु भयो । ‘डेभलपमेन्ट अफ कान्ती ताल’ नाम दिइएको उक्त योजना अब पूरा भएको छ ।

कान्ति ताल
कान्ती ताललाई सौन्दर्यकरण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजनाको भौतिक निर्माणतर्फको सबै काम सकिएको उप-महानगरपालिकाका इन्जिनियर सुरज शर्माले बताए । २०७६ साल असार ८ गतेबाट सुरु भएको भौतिक निर्माणमा हालसम्म करिब साढे १० करोड खर्च भएको शर्माले जानकारी दिए ।

कान्ति ताल
पुष्पाञ्जली-पीएस जेभी कम्पनीले नौ करोड ४८ लाख रुपैयाँमा ठेक्का लिएको आयोजना २०७७ साल मंसिर २८ गते सम्पन्न गरिसक्ने समयसीमा रहेकोमा कोरोनाका कारण तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि म्याद थप गरिएकोेमा हाल आयोजना पूरा भएको उनले बताए । ‘अब केही छुटफुट काम पूरा गर्ने, सुधार गर्ने, रङरोगन गर्नेबाहेक निर्माणको सबै काम सकिएको छ,’ इन्जिनियर शर्माले भने । तालमा थप पर्यटक लक्षित संरचनाहरु भने निरन्तर निर्माण हुँदैजाने उनले बताए ।
तालमा भौतिक निर्माणतर्फ चारैतिर माटो भरेर पर्खाल लगाइएको छ । पर्खालबाहिर वरिपरि ७ मिटर फराकिलो सडक निर्माण गरिएको छ । सडकछेउमा दुवैतिर २ मिटर चौडाईको फुटपाथ बनाइएको छ । यसैगरी तालको प्रवेशद्धारामा गेट निर्माण गरिएको छ भने सडक छेउमा नाली निमाण गरिएको छ । तालपट्टिको फुटपाथमा ‘इन्टरलक टायल’ बिछ्याइँदै छ । संरचना निर्माणपछि ताल आकर्षक बनेको छ । अब ताललाई हुलाकी सडकसँग जोड्ने अर्को एक सडकखण्ड निर्माण गर्ने, रेलिङ राख्ने, सडक सफा गरेर मार्किङ गर्ने, वृक्षारोपण र रङरोगन लगायतका कामका लागि चालू आर्थिक वर्षमा ३५ लाख रुपैयाँ छुट्याइएको शर्माले जानकारी दिए ।

कान्ति ताल
ताल वरिपरि भौतिक निर्माण पूरा भएसँगै उप-महानगरपालिकाले बोटिङ, माछा पालन, पर्यटकीय गतिविधि सन्चालनका लागि निजी कम्पनीलाई जिम्मा दिने तयारी पनि अन्तिम चरणमा पुर्याएको छ । ती गतिविधि सन्चालानार्थ उप-महानगरपालिकाले वार्षिक २१ लाख रुपैयाँ ठेक्कामा १० वर्षसम्म सन्चालन गर्नेगरी बोलपत्र आह्वान गरिसकेको छ । हरेक दुई वर्षमा १० प्रतिशत ठेक्का रकम बृद्धि हुँदै जाने पनि बोलपत्र सूचनामा उल्लेख छ । आफ्नो कार्यकालको ‘ड्रिम प्रोजेक्ट’कोरुपमा रहेको उल्लेख गर्दै आएका मेयर डा. धवलशमशेर राणाले अब ताल सन्चालक कम्पनी छनौटको अन्तिम चरणका रहेको जानकारी दिए । ‘सबै प्रकृया पूरा भइसकेको छ । अब केही दिनमै जिम्मा पाउने कम्पनीले काम सुरु गर्छ,’ मेयर राणाले भने ।
कान्ती ताल निर्माण पूरा भएसँगै नेपालगन्ज उप-महानगरपालिकामा तीनवटा तालहरु पर्यटकीय गतिविधिका लागि उपयुक्त भएका छन् । रानीतलाउमा यसअघि नै गतिविधि सुरु भइसकेका छन् । यद्धपि कोरोनाका कारण ती गतिविधिहरु हाल बन्द जस्तै भएका छन् भने तालमा भएका साधनहरुपनि जीणर् भइसकेका छन् । यसैगरी वाटरपार्क तालको निर्माण कार्य पूरा भइ सन्चालनको अन्तिम चरणमा छ ।