प्रदेशसभा बैठक चल्न नदिने लुम्बिनी एमालेको अडान
Tuesday, August 24th, 2021, 3:30 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ८ भदौ
लुम्बिनी प्रदेशको प्रमुख विपक्षी दल नेकपा एमालेले आफ्ना माग पूरा नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने बताएको छ । लुम्बनी एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर सभामुख र प्रदेश सरकार लोकतान्त्रिक विधि, पद्धति र संवैधानिक प्रावधानलाई कुल्चेर अघि बढेकोले संसद चल्न नदिने बताएका छन् ।
प्रदेशसभा बैठक बहिष्कार गरिरहेको प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नगरी प्रदेशसभा बैठक चलाउनुले सभामुखको पदीय गरिमा र मर्यादा नांगिएको विज्ञप्तिमा आरोप लगाइएको छ । सरकार गठन प्रक्रियादेखि नै यो सरकार अवैधानिक, असंसदीय र लोकतन्त्र विरोधी रहेको एमालेले दाबी गरेको छ ।
दलका नेता शंकर पोखरेलको नेतृत्वमा संविधानको धारा ६८ को उपधारा १ अनुसार गठन भएको सरकारका विरुद्ध दुई वर्षभित्र अविश्वास प्रस्ताव ल्याउन नपाइने संवैधानिक प्रावधान रहे पनि संवैधानिक प्रावधानलाई कुल्चिँदै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, प्रदेश प्रमुखलाई विशेष अधिवेशनको लागि समावेदन र संवैधानिक प्रावधान विपरीत प्रदेश प्रमुखबाट विशेष अधिवेशनको आव्हान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सभामुखले सत्तारुढ दलसँगको आवद्धतालाई मात्रै ख्याल गरेर अघि बढेको एमालेले आरोप लगाएको छ ।