संविधानको स्वामित्व घट्दै छ : हृदयेश त्रिपाठी
Wednesday, August 25th, 2021, 4:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ भदौ
स्वतन्त्र राजनीतिक विचार समूहका संयोजक एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले संविधानको स्वामित्व घट्दै गएको तर्क गरेका छन् । राजनीतिक भेटघाटको शीलशीलमा नेपालगन्ज आएका त्रिपाठीले देशको राजनीति लिकभन्दा बाहिर गएको र संविधान जारी हुँदा मिलेका शक्तिहरु विभाजित भएकोले संविधानको स्वामित्व घटेको बताए ।
अवधी पत्रकार संघले गरेको पत्रकार भेटघाट कार्यक्रममा त्रिपाठीले पछिल्ला राजनीतिक घटनाक्रमले संविधानलाई घाइते बनाएको बताए । संविधान जारी भइसकेपछिको संसद र सरकारले राम्ररी काम गर्न नससक्नुले संविधानलाई नकारात्मक असर पारेको उनको भनाइ छ । ‘४६ पछिको संविधानमा पनि त्यही देखिएको थियो । त्यो संकेत अहिले पनि देखा परेको छ,’ त्रिपाठीले भने ।
अदालतले अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउ भनेर आदेश दिनु संसदको विशेषाधिकारमाथिको अतिक्रमण भएको उनले बताए ।
अहिले दलहरु सैद्धान्तिक मतभेदका आधारमा नभई व्यक्तिगत स्वार्थका कारण विभाजन भएको त्रिपाठीले बताए ।
फरक प्रसंगमा नेता त्रिपाठीले नेपालगन्जमा विश्वविद्यालय आवश्यकता रहेको आफूले बोध गरेको बताउँदै त्यसका लागि सबैले पहल गर्न आग्रह गरे ।