नेपालगन्ज हुँदै कैलाश दर्शन गर्न पुगे ‘सदगुरु’
Wednesday, August 25th, 2021, 7:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ भदौ
चर्चित सद्गुरु नेपालगन्ज हुँदै हुम्ला पुगेका छन् । सद्गुरु बुधबार हवाईजहाजमा काठमाडौँबाट नेपालगंज र नेपालगंजबाट हुम्लाको पसमकोट पुगेका हुन् ।
मानसरोवर कैलाशको दर्शन गर्न गर्नका लागि सद्गुरुले नेपालगन्ज रुट रोजेका हुन् । उनले नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल मार्गबाट मानसरोवर दर्शन गर्ने भएका छन् ।

सद्गुरु
खराब मौसमका कारण हेलिकोप्टरले उडान भर्न नसक्दा एक दिन ढिलो गरी सद्गुरु हुम्ला पुगेका हुम्ला निवासी विष्णु रावतले जानकारी दिए । सद्गुरुसँग अरु दुई जना सहयोगीहरु पनि यात्रामा सहभागी छन् ।
सिमकोट विमानस्थलमा ओर्लिएपछि सद्गुरुले सिमकोटलाई निक्कै सुन्दर ठाउँ भएको बताएका रावतले जानकारी दिए । विमानस्थलबाट सद्गुरुलाई मोटर साइकलको व्यवस्था गरिएको भए पनि उनी आफैले पैदल मार्गबाट बास बस्ने स्थान सिमसार क्षेत्रको खेल मैदानसम्म हिँडेर पुगेका रावतले बताए । बुधबार एक दिन गुरु सिमकोटमै बास बसेर आज बिहीबार बिहानबाट लाप्चातर्फको पैदल यात्रा सुरु हुने उनले बताए ।

सद्गुरु
मङ्गलवार काठमाडौँ विमानस्थलमा सद्गुरु बेलुका अबेरसम्म बस्नु परेपनि हेलिकप्टरले उडान भर्न नसक्ने भएपछि उतै रोकिनुपरेको थियो ।
यसअघि ५५ जना कुक, गाइड र ४६ जना विभिन्न देशका पर्यटहरु गुरुसँग जाने कार्यक्रमसहित सिमकोट आइसकेका थिए । सद्गुरुको स्वागतका लागि हुम्लामा स्थानीय एवं पर्यटहरु पर्खेर बसेका थिए । त्यही बिचमा उनी नआउने हल्ला भएपछि निराशा छाएको थियो ।
मौसमका कारण अब सद्गुरुको मानसरोवर कैलाशको यात्रा एक दिनपछि धकेलिएको छ । सद्गुरुसँग मानसरोवर जानै सबै टोली स्थानीय खेल मैदानमा पालको व्यवस्था गरी बसेका थिए ।
फोटो : विष्णु रावत