नेपाल बैंक नेपालगन्जको आफ्नै भवन बन्दै
Thursday, August 26th, 2021, 11:38 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० भदौ
नेपाल बैंक लिमिटेड शाखा कार्यालय नेपालगन्जको आफ्नै भवन निर्माण हुने भएको छ । नेपालगन्ज उप–महानगरपालिका–१३, रामलिला मैदान रोडमा रहेको जग्गामा शाखा कार्यालयको भवन निर्माण हुने लागेको हो ।
साढे ११ कठ्ठा जग्गामा साढे दुई तलाको अत्याधुनिक भवन निर्माण गर्न लागेको नेपाल बैंक लिमिटेड नेपालगन्जका कायममुकायम (कामु) शाखा प्रवन्धक रुपेशकुमार श्रीवास्तवले जनाए । श्रीवास्तवका अनुसार भवन निर्माणका लागि करिब चार करोड रुपैयाँ लाग्ने छ ।
‘अहिले प्राविधिक काम भइरहेको छ,’ नेपाल बैंक लिमिटेड नेपालगन्ज शाखाका कामु शाखा प्रवन्धक श्रीवास्तवले भने, ‘अबको केही समयपछि अन्य काम सुरु हुन्छ ।’
अहिले आफ्नै भवन नहुँदा नेपाल बैंक लिमिटेड शाखा कार्यालय नेपालगन्ज भाडाको घरमा बस्दै आएको छ । बैंकले मासिक एक लाख १० हजार रुपैयाँ भाडा तिर्दै आएको श्रीवास्तवले जानकारी दिए । आफ्नै भवन बनेपछि उक्त रुपैयाँको समेत बचत हुनेछ उनको भनाइ छ ।
अहिले आफ्नै भवन नहुँदा खुम्चिएर काम गर्नुपर्ने बाध्यता भएको बैंकका कर्मचारीहरुको भनाइ छ । जनतालाई चुस्तदुरुस्त सेवा दिन आफ्नै भवनमा अझ सजिलो हुने उनीहरु बताउँछन् ।
हाल रामलिला मैदान रोडमा रहेको जग्गामा बैंकको भवनसमेत छ । संरचना पर्याप्त नहुँदा उक्त भवनबाट सामान्य काम मात्रै हुँदै आएको बैंकले जनाएको छ ।
शाखा प्रवन्धक श्रीवास्तव सरुवा भएर आएपछि बैंकको कामकाजले समेत गति लिएको छ । सेवाग्राहीलाई मध्यनजर गर्दै श्रीवास्तवले सेवा दिन थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।