नदीले बगाउँदा १ को मृत्यु १ बेपत्ता
Friday, August 27th, 2021, 2:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ११ भदौ
अबिरल वर्षासँगै बबई नदीमा आएको बाढीमा बगेर दाङमा एकजनाको मृत्यु भएको छ । मलामी गएका बेला नुहाउने क्रममा बबई नदीमा बग्दा शान्तिनगर गाउँपालिका–१ निवासी ५० बर्षीय बामदेव देवकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
देवकोटा शुक्रबार बिहान निधन भएका स्थानीय दिलबहादुर रानाको मलामी गएका थिए । मलामी गएका देवकोटा नुहाउने क्रममा बाढीमा बगेका थिए । ‘मलामी गएको बेला नुहाउने क्रममा उहाँ बग्नु भएको रहेछ’, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले भने, ‘करिब पाँच सय मिटर तलबाट स्थानीयले उहाँको शब निकालेका रहेछन् ।’
त्यसैगरी देउखुरीमा पनि एकजना राप्ती नदीमा बगेर वेपत्ता भएका छन् । लमही नगरपालिका–७ निवासी ४५ वर्षीय सुन्दरराम चौधरी राप्ती नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । विहिवार दिउँसो भैंसी चराउन गएको समयमा चौधरी राप्ती नदीमा वेपत्ता भएका हुन् । बेपत्ता भएका चौधरीको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनी बेपत्ता भएको घर परिवारले प्रहरीलाई खबर गरेपनि प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले बताएको छ ।