५ जना बेपत्ता, १ जनाको मृत्यु
Friday, August 27th, 2021, 4:52 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ११ भदौ
तीन दिनदेखि परिरहेको अविरल वर्षातका कारण एकजनाको मृत्य भएको छ भने पाँजना बेपत्ता भएका छन् । वर्षासँगै दाङको बबई नदीमा आएको बाढीमा बगेर शान्तिनगर गाउँपालिका–१ का ५० वर्षीय बामदेव देवकोटाको मृत्यु भएको हो । उनीको मलामी गएका बेला नुहाउने क्रममा बबई नदीमा बगेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
वर्षातका कारण बिहीबार दाङ जिल्लाको राप्ती नदीमा बगेर लमही नगरपालिका–७ निवासी ४५ वर्षीय सुन्दरराम चौधरी बेपत्ता भएका छन् । साथै रूपन्देही जिल्लाको दानव नदीमा आएको बाढीले सम्मरीमाई गाउँपालिका–३, प्रिपहवाका २३ वर्षीय बब्लु लोधलाई बगाएर बेपत्ता बनाएको छ ।
नवलपरासी बर्दघाट–सुस्तापूर्वको हुप्सेकोटमा पहिरो खस्दा तीनजना बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा शुक्रबार पहिरोमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया, सात वर्षीया नातिनी भूमिसरा र ६ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ ।
बाढीले रुपन्देही जिल्लाका १५ घर बगाएको छ । रोहिणी, ओमसतिया र कञ्चन गाउँपालिकाका १४ कच्ची र बुटवल उप–महानगरपालिका–१२ सिर्जनाटोलमा एक पक्की घर भत्किएको हो ।
अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ र बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन् । कतिपय स्थानमा पहिरोले सडक अवरुद्ध गरेको छ । वर्षाका कारण ठाउँ–ठाउँमा डुबान हुनुका साथै पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड अवरुद्व भएको छ ।
रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिएको छ । जसका कारण पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डमा गाडी चल्न नसकेको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र, राप्ती नदी तटिय क्षेत्रमा जोखिम बढेको छ । कपिलवस्तुको वाणगंगा नदी आसपासको क्षेत्रमा पनि जोखिममा परेका छन् ।
अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे–सन्धिखर्क सडक पनि पहिरो खसेका कारण अबरुद्व भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार अवरुद्ध सडक
१. नवलपरासी (पश्चिम) बर्दघाट नगर पालिका – १० लण्डनबृज स्थित (पूर्व–पश्चिम) राजमार्ग सडक खण्ड र बासा, भुताहा र सुनवल नगरपालिका – १२ बडेरास्थित रहेको ड्राईभर्सन बगाएपछि बाटो पूर्णरुपमा अवरोध ।
२. रुपन्देही देवदह नगर पालिका – ९ स्थित घोडाहा खोलामा पुल भासिदा (पूर्व–पश्चिम) राजमार्ग सडक खण्डमा अवरोध ।
३. अर्घाखाँची सितगंगा नगरपालिका – १२ बसेरी स्थित (गोरुसिंगे–सन्धिखर्क) सडक खण्डमा अवरोध ।
४. पाल्पा रम्भा गाउँपालिका – ३ सितापहाड स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा अवरोध ।
५. बर्दिया बासगढी नगरपालिका – १ बबई स्थित (कोहलपुर–सुर्खेत) रत्नराजमार्ग सडक खण्डमा अवरोध ।
६. बाँके खजुरा गाउँपालिका – ३ स्थित खजुरा रोड सडक खण्ड अवरोध ।
६. गुल्मी रुरु गाउँपालिका – २ पोखरी बगर स्थित (रिडी – रुद्र बेनी) सडक खण्डमा अवरोध ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने विभागको भनाइ छ । विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने बताएको छ ।
सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने बताएको छ ।
विक्रम बुढाक्षेत्री /बाँके
लिलाधर वली/दाङ