प्रदेश सभा सदस्य आइपि खरेलसँग पठन वार्ता
Saturday, August 28th, 2021, 11:16 am
Kalpristha
सबैभन्दा राम्रो पुस्तक त्यो हो जसले तपाईंले पहिल्यै जानेको कुरा बताउदछ । – जर्ज अर्वेल
पुस्तक पठन संस्कारबारे कालपृष्ठको संवाद श्रृंखला ‘पठन वार्ता’को तेस्रो अंक लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष आइपि खरेलसँग ।
१. रोजाईमा कस्ता पुस्तक पर्छन् ?
मेरो रोजाईमा पर्ने माक्र्सवादी साहित्य नै हो । त्यो भन्दा बाहिरको राजनीतिक वृत्तका किताब पढ्छु । मेरो राजनीतिक विचार धाराभन्दा फरक बिपी कोइरालाका किताब पनि पढें । राणा परिवारका डायमन शमशेरले लेखेको सेतो बाघ पनि पढें । तर, मलाई असाद्धै मन छुने भनेको माक्र्सवादी साहित्य र उपन्यास नै हुन् ।
२. अहिले के पढ्दै हुनुहुन्छ ?
अहिले चाहीँ मैले ‘दुई कदम अगाडि एक कदम पछाडि’ भन्ने लेनिनको पुस्तक पढ्न लागेको छु । त्यो पुरानै किताब हो । राजनीति सँगै सम्बन्धित छ । अहिलेको राजनीतिक अवस्थासँग मेल खाने भएकोले त्यो पढ्दै छु । पार्टी एकता गरेर दुई कदम अगाडि बढेका हामी पार्टी फुटेर एक कदम पछाडि पुगेका छौँ । अब फेरि अगाडि बढ्का लागि हामीले तयारी गर्नुपर्छ ।
३. यसभन्दा अघि के पढ्नुभयो ?
यसभन्दा अघि मैले एकजना बैंकरको किताब पढें । लेखकको नाम पनि बिर्सेँ, थापा थरको हुन् । त्यो किताब बैंक प्रणाली र बढीजसो लेखकको अनुभूतिसँग सम्बन्धित छ ।
४. त्यो पुस्तकको मन परेको पक्ष ?
त्यो पुस्तकमा ठ्याक्कै मैले भनेकै जस्तो भाषा नभए पनि आशय के छ भन्नुहुन्छ भने, ४६ को राजनीतिक परिवर्तनपछि अति निजिकरण भयो । मैले के भन्छु भने दलाल नोकरशाहहरुको हातमा अर्थतन्त्र गयो । बैंकहरु सरकारले लाइसेन्स दिएका ठगहरु हुन् भन्ने मेरो धारणा छ । त्यस धारणाले पनि त्यो पुस्तकतिर तानेको थियो मलाई ।
५. त्यो पुस्तकको मन नपरेको पक्ष ?
अलि बढी लेखकको आत्मगत छ ।
६. अब के पढ्ने तयारीमा हुनुहुन्छ ?
अहिले मैले विपी कोइरालाको जेठो संसद भन्ने किताब खोजिरहेको छु । प्रदेश सभाको पुस्तकालयमा त्यो पुस्तक उपलब्ध गराइदिन अनुरोध गरेको छु ।
७. किन पढ्न खोज्नभएको त्यो पुस्तक ?
मैले त्यो १२-१५ वर्ष पहिला पढिसकेको थिएँ । त्यसको सन्दर्भ अहिले धेरैजसो याद छैन । अहिले फेरि संसदको प्रसँग सतहमा रहेकोले पुनः पढ्न खोजेको छु ।
८. अहिलेसम्म कति पुस्तक पढ्नुभयो होला ?
अहिलेसम्म साना-ठूला गरी डेढ सय पुस्तक पढें हुँला ।
९. घरमा पुस्तकालय छ ?
छ ।
१०. पुस्तकालयमा कति पुस्तक होलान् ?
यसमा मेरो के भयो भने भूमिगतकालमा करिब १०, १२ बोरा पुस्तक गाडिदिएछन् । ती सबै माटोले खाइदियो । त्यसपछि पनि जम्मा गरेका होलान् सय डेढसय जति ।
११. पुस्तकालयमा भएको सबैभन्दा प्रिय पुस्तक ?
मेक्सिम गोर्कीको ‘आमा’ र ‘मेरो बाल्यकाल’ सबैभन्दा मन परेको पुस्तक हुन् ।
१२. किन मन परेको ?
आमामा पात्र छनौट एकदमै मन परेको हो । पात्र गजब तरिकाले छानेका छन् । त्यहाँ असल आदर्श पनि छ । अन्तसंघर्ष पनि छ । त्यसले धेरै कुरा सिकाउँछ । त्यहीभएर त्यो पुस्तक पटक-पटक पढिरहन मन लाग्छ । अर्को मेरो बाल्यकालमा आत्मस्वीकृति एकदमै इमान्दारीपूर्वक उल्लेख छ । हाम्रो साहित्यमा भएको भए, मैले राम्री केटी देखें, उसले मलाई हेरी, मलाई लाज लागेर मुख लुकाएँ भन्थे होलान् । तर उनले त्यहाँ के भनेका छन् भने केटीहरु टाँक लगाउँथे म के छ त्यहाँभित्र भनेर हेर्थेँ भनेका छन् । त्यो आत्मस्वीकृतिले मलाई छोएको हो ।
१३. हालसम्म पुस्तकमा कति खर्च गर्नुभयो होला ?
करिब दुईलाख जति खर्च गरियो होला ।
१४. अहिलेसम्म पढेको सबैभन्दा राम्रो पुस्तकको नाम लिनुपर्यो भने ?
पुस्तकमा मन परेको ‘आमा’ नै हो ।
१५. पढ्न खोजेर पनि नपाएको वा नभेटेको पुस्तक ?
एउटा छ ॅनजन्मिएको छोरो’ । मैले डायरीमा टिपेर राखेको छु । त्यो टिपाउने पनि पिटर(नरेन्द्रजंग पिटर) हो ।
१६. नेपाली लेखकहरुको किताब पढ्नुहुन्न ?
यो कस्तो छ भने, नेपाली लेखकमा कि त अनुवाद गर्ने कि त घरमा बसेर सबैथोक जानेको जस्तो गरी लेख्ने चलन छ । भारतका लेखक राहुल सांकृत्यायनले जुन ठाउँको विषयमा लेखे त्यहीँ गएर त्यस ठाउँलाई अपनत्व ग्रहण गरेर लेखे । उनका किताबलाई बहिस्कार पनि गरे कतिपयले । अहिले तिनैले उनका किताब पढ्छन् । उनले भन्छन्, कुनै विषयवस्तुको गहिराई बुझ्न त्यसलाई अनुभव नै गर्नुपर्छ । हामीकहाँ लेखकमा त्यो धैर्यता छैन ।
१७. विज्ञापन हेरेर किताब किन्नुहुन्छ ? या तपाईंको किताब छनौटको शैली के हो ?
म विज्ञापन हेरेर किताब किन्दिन । पहिला किताबको भूमिका पढ्छुँ र मन पर्यो भने मात्रै किन्छु । वा साथीभाईले यो किताब राम्रो छ भनेर प्रतिक्रिया दिए भने किन्छु ।
१८. तपाईंको लागि पुस्तकको महत्व के हो ?
पुस्तकको महत्व भनेको यसले तपाईंलाई जगाइराख्छ । हरदम जिउँदो बनाइराख्छ । गतिशील बनाउँछ । सबै किताबको सबै पक्ष राम्रो हुन्छ भन्ने हुन्न । तर किताबमा केही न केही नयाँ ज्ञान अवश्य हुन्छ । तपाईंले नबाँचेको जीवन पनि पुस्तकमा छ । तपाईं जति सकिन्छ पढ्नुस् । तर पढ्न नछोड्नुस् । निरन्तर पढ्नुस् ।
१९. तपाईंका समकक्षी र अग्रज राजनीतिज्ञले कतिको पढ्दा रहेछन् त ?
पहिला पढ्थे, अहिले छैन । अहिले पढ्दै भ्याउँदैनन् । नपढेकै परीणाम हो अहिलेको अवस्था । समाजको रुपान्तरणको लागि राजनीतिज्ञमा पनि निरन्तर अध्ययनको खाँचो हुन्छ । जुन घट्दै छ ।
प्रस्तुति : बिपी अस्तु