विद्युत लाइन विरुद्ध बैजनाथका स्थानीय
Saturday, August 28th, 2021, 11:48 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ भदौ
वस्तीबाटै १ सय ३२ केभिए प्रशारण लाईन विस्तार गरिने भएपछि बाँकेको चिसापानी र बानियाभार क्षेत्रका स्थानीय आक्रोसित भएका छन् । नेपाल विद्युत् प्रशारण लाईन आयोजनाले निर्माण गर्ने विद्युत्का टावर र लाईनले भोगचलन गर्ने जग्गा र बस्तीलाई असर पर्ने भएपछि बैजनाथ गाउँपालिका-१ चिसापानी र वडा नम्बर ४ बानियाभार बाँकेका स्थानीय संघर्षमा उत्रिएका हुन् ।
२०३५/०३६ सालमा रारा राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण भइ बाँके झरेका यी बस्तीका स्थानीय बाँके र बर्दिया राष्ट्रिय निकुञ्जै कारण पीडामा छन् । चिसापानीका ८० र बानियाभारका ५० घरधुरी भएकै वस्तीबाट कोहलपुर सुर्खेत हुँदै दैलेख सम्म पुग्ने केन्द्रिय प्रशारण लाईन लिन खोज्दा ९ मिटर दाँया र ९ मिटर बाँया क्षेत्रको जग्गा उपभोग गर्न नपाईने भएपछि थोरै जग्गा भएकाहरुको उठीबास हुने स्थानीय बताउँछन् ।
बस्तीबाटै प्रशारण लाइन लिने भनिएको सहमतिपत्रमा आफ्नो हस्ताक्षर पनि किर्ते गरिएको चिसापानीका स्थानीय वकिलजंग शाहले बताए । उनले हाल आएर बस्ती बिग्रनेगरि अर्को सर्वे गरिएको बताए ।
गाभरका पर्यटन व्यवसायी कृष्ण चौधरी मानवीय क्षति हुनसक्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेको बस्ती क्षेत्रबाटै प्रशारण लाइन विस्तार गरिँनु नहुने बताउँछन् । उनले स्थानीयसंग समन्वय नै नगरी बस्ती भएकै ठाँउबाट लाईन लिन खोजिएकाले स्थानीय बासीको आपत्ति रहेको बताए ।
आरक्ष क्षेत्र हँदै प्रशारण लाईन लिन सकिने विकल्प हुँदा-हुँदै पनि बस्ती भित्रैबाट लाईन लिन लागिएकाले स्थानीय चम्फी ओलीले बताईन् ।
बाँकेका प्रमुख जिल्ला अभिकारी शिवराम गेलालले प्रशारण लाइनले अधिग्रहण गर्ने जग्गाको अवस्था बुझ्न छुट्टै उपसमिति बनाइएको बताउँदै उपसमितिले जग्गाको अवस्था र मूल्यांकन गर्ने जानकारी दिए । उनले यस विषयमा आफू गम्भिरतापूर्वक लाग्ने आश्वासन पनि दिए ।
बस्तीबाट प्रशारण लाइन विस्तार गर्ने योजना स्थगित गरी आरक्ष क्षेत्रबाट लाइन विस्तार गर्न आग्रह गर्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी गेलालमार्फत ज्ञापनपत्र समेत बुझाएका छन् । आफूहरु विकासको विरोधी नभएकाले प्रशारण लाइन लिन विकल्प हुँदा-हुँदैपनि बस्तीबाटै लिन खोजिए बाध्य भएर संघर्ष गर्न पछिनपर्ने स्थानीयले चेतावनी दिएका छन् ।