पर्यटक तान्ने रणनीतिमा बाँके राष्ट्रिय निकुन्ज
Saturday, August 28th, 2021, 9:18 pm
Kalpristha
बाँके राष्ट्रिय निकुन्जमा पर्यटकीय पुर्वाधार नभएको पनि होइन । होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारीलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । सन् २०१८ को गणनामा निकुन्जमा २१ वटा बाघसमेत रहेका पाइएको थियो । बाघ पर्यटकहरुका लागि मुख्य आकर्षण हो । तरपनि पर्यटकको आवागमन बढ्न सकेको छैन ।
तेज बहादुर खड्का
नेपालगन्ज, १२ भदौ
बाँके राष्ट्रिय निकुन्ज स्थापना भएको एक दशकभन्दा बढी भइसकेको छ । एक दशकको अवधिमा निकुन्जले पर्यावरण र वन्यजन्तु संरक्षणमा उल्लेखनीय काम गरे पनि पर्यटकीय गतिविधि भने बढाउन सकेको छैन ।
सुरुका सात वर्ष निकुन्जमा पर्यटकको आगमन शुन्य रह्यो । पछिल्ला चार वर्षयता पर्यटकको आगमन सुरु त भएको छ । तर त्यो सन्तोषजनकरुपमा बढ्न सकेको छैन ।
निकुन्जका अनुसार स्थापना कालदेखि आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७-७८ सम्म जम्मा आठ सय सय ९९ जना पर्यटक निकुन्जमा पुगेका छन् । ती पर्यटकमध्ये पनि आठ सय ६५ जना नेपाली पर्यटक नै छन् । १० वर्षमा २० जना सार्क देशका पर्यटक आएका छन् भने अन्य मुलुकमा मात्र १४ जना पर्यटक निकुन्ज पुगेका छन् । आव २०७४-७५ मा दुईजना स्वदेशी पर्यटक आएकोमा २०७५-७६ मा जम्मा एक सय ५९, २०७६-७७ मा तीन सय ७० र गत आर्थिक वर्ष २०७७-७८ मा जम्मा तीन सय ६७ जना पर्यटक मात्रै निकुन्ज पुगेका छन् ।
जबकी सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुन्जमा भने वार्षिक १५ देखि २० हजार विदेशी पर्यटहरु आइरहेका छन् ।
बाँके राष्ट्रिय निकुन्जमा पर्यटकीय पुर्वाधार नभएको पनि होइन । होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारीलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । सन् २०१८ को गणनामा निकुन्जमा २१ वटा बाघसमेत रहेका पाइएको थियो । बाघ पर्यटकहरुका लागि मुख्य आकर्षण हो । तरपनि पर्यटकको आवागमन बढ्न सकेको छैन । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत डा. रविन कडरिया भन्छन्, ‘बाघ हेर्न पर्यटक लालायित हुने भएपनि बाँकेमा पर्यटक तान्न सकिएन ।’
तर, सबै पूर्वाधार तयार हुँदापनि पर्यकटहरु बढ्न सकेका छैनन् । यसै अवस्थालाई मध्यनजर गर्दै निकुन्जले अब पर्यटक भित्र्याउने रणनीति अघि बढाएको छ । निकुन्जले शनिबार नेपालगन्जमा पर्यटक भित्र्याउने विषयमा सर्वपक्षीय कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । गोष्ठीमा निकुन्ज र समग्र बाँके जिल्लामा पर्यटक आकर्षण गर्ने विषयमा छलफल गरियो । सहभागीले पर्यटकहरुलाई आकर्षित गर्न प्रचार-प्रसारदेखि पर्यटक आवागमनमा रहेका नीतिगत र व्यवहारगत अड्चनहरु हटाउनुपर्नेमा जोड दिए ।
होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले बाँकेका लागि सबैभन्दा बढी पर्यटक तान्ने ठाउँ छिमेकी देश भारत भएपनि त्यहाँबाट आउनेहरुलाई सीमामा अनेक अड्चन खडा गरिने गरेको बताए । ‘भारतीय पर्यटक देखेमा प्रहरीले मोटो मुर्गा देखेको जस्तो व्यहार गर्छ । उनीहरुबाट अवैद्य रकम असुली गरिन्छ । त्यतिमात्रै होइन उनीहरुलाई प्रवेशका लागि अनुमति लिनै तीन घण्टा कुर्नुपर्छ ।’
काफ्लेको जस्तै भनाइ नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा. धवलशमशेर राणको पनि छ । उनले नेपालका लागि पर्यटकको स्रोत भारत हुने संभावना रहेपनि त्यसमा थुप्रै नीतिगत र व्यवहारगत अड्चनहरु रहेको बताए । ‘नाका पार गर्न नै तीन घण्टा लाग्छ । पर्यटक नाकाबाटै फर्किने सोचमा हुन्छन् । एक दिनका लागि आइहाले पनि फेरि आउँदैनन् । उनीहरु नेपालमा अपमान हुन आउने हो र ?’ सुरक्षाकर्मीको व्यवहारप्रति आक्रोश पोख्दै राणाले भने । उनले नेपालसँग भारतीय पर्यटकलाई तान्ने ठोस कार्यक्रम पनि नभएको बताए ।
कार्यशालामा सहभागी नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले अहिलेसम्म नेपालमा तराईंको पर्यटकीय संभावनाबारे ठोस कार्यक्रम नभएको र त्यस्ता क्षेत्रको प्रचार-प्रसार र प्रवद्र्धन पनि हुन नसकेको बताए । उनले तराईंका नाकामा रातीको समयमा पनि आवागमन खुला गर्नुपर्ने बताए । रातीको समयमा सीमामा आइपुग्ने पर्यटकहरुले दुःख पाउने गरेको र त्यसको नकारात्मक असर समग्र पर्यटन क्षेत्रमा पर्ने उनले बताए । रेग्मीले केही महिनामै नेपालगन्जमा बोर्डको कार्यालय पनि स्थापना हुने बताएका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले जंगली क्षेत्र र मध्यवर्ती क्षेत्रमा विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षित गर्न थालिएको बताए ।
कार्यक्रममा सहभागी कोहलपुर नगरप्रमुख लुटबहादुर रावत, बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुलगायतले आ-आफ्नो स्थानीय तहका पर्यटन लक्षित कार्यक्रमबारे जानकारी गराएका थिए ।
बाँकेमा राष्ट्रिय निकुन्जको पर्यावरण पर्यटकीय संभावना र अन्य धार्मिक लगायतका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि प्याकेजमा कार्यक्रमहरु तय गरिनुपर्नेमा सहभागीहरुको जोड थियो ।
कार्यक्रममा सहभागीले पर्यटनको विकास र प्रवद्र्धनका लागि आ-आफ्नो क्षेत्रबाट सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा भएको छलफलपछि पर्यटक प्रवद्र्धन मन्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले खुसी व्यक्त गरे । उनले मन्च लगायत पर्यटन सम्बद्धको पहलमा पछिल्लो समय पर्यटन क्षेत्र बहसमा आएको र यसले सकारात्मक परीणाम ल्याउने आशा व्यक्त गरे ।
के छ बाँके राष्ट्रिय निकुन्जमा ?
निकुन्जमा मुख्य आकर्षण २१ वटा बाघहरु छन् । बाघको संख्या बढाउन आहारा प्रजातिको संख्या बढाउने, घाँसे मैदानहरू व्यवस्थित गर्ने, पानी पोखरी निर्माण गर्ने, अग्निरेखा निर्माण गर्ने लगायतका कामहरू भइरहेका छन् । बाघसँगै दुर्लभ मानिने चौका निकुन्जमा प्रशस्त छन् । ११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तानधारी, ५० दुर्लभ सहित ३ सय किसिमका पन्छी, २ दुर्लभसहित २४ घस्रने, ५ दुर्लभसहित ५५ बढी प्रजातीका माछा गरी चारसय २२ भन्दा बढी प्रजातिका जीवजन्तु निकुन्जमा छन् ।
निकुन्ज तराईं, भावर र चुरे क्षेत्रमा फैलिएकोले तीनै किसिमको हावापानी र वनस्पति भएको क्षेत्र हो । निकुन्जमा पर्ने चुरे पहाडमा चुरेमा आधारित पर्यटकीय गतिविधि सन्चालन गर्न सकिने प्रशस्त संभावना रहेको प्रमुख संरक्षण अधिकृत शाहले बताए ।
निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र र्याफटिङको व्यवस्थाका लागि संभाव्यता अध्ययन भएका छन् । त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ । त्यस्तै ओभरी नजिकैका क्षेत्रमा हात्ती सफारी, जंगल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको छ ।
गिद्धेनीचौरमा मचान निर्माण गरी जंगल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जंगल ड्राइभको व्यवस्था गरिएको छ । गाभर भ्याली होमस्टे क्षेत्रका रुपमा विकास हुँदै छ । गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्ने क्रममा २०३५ मा रारालिही क्षेत्रका बासिन्दालाई गाभर भ्यालीछेउ पुनःस्थापना गराइएको थियो । रैथाने थारू समुदाय पनि ४० सालदेखि यहाँ बस्दै आएका छन् ।
वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । पारिवारिक बसाइ र सार्वजनिक कार्यक्रम का लागि होमस्टेको लोकप्रियता बढदै गएको छ । हाल पाँचवटा घरमा होमस्टेको सुविधा रहेकोमा यो वर्षभित्रै थप दशवटा घरमा होमस्टे विस्तार गर्ने योजना रहेको होमस्टे सञ्चालक कृष्ण चौधरी बताउँछन् ।
होमस्टेमा हिमाली फापरको रोटी, कोदोको ढिँडो र सिमीको दाल तथा थारू समुदायको सिद्रा, ढिक्री, घोंगी उपलब्ध छ । होमस्टे सञ्चालकले बाँके र बर्दिया निकुञ्जमा जंगल सफारीको प्याकेज सञ्चालन गरेका छन् ।