आम जनताको स्कुल बन्दै नारायण
Monday, August 30th, 2021, 1:18 pm
Kalpristha
अंजली राजी
नेपालगन्ज, १४ भाद्र
बहुभाषिक सहर नेपालगन्जको इतिहासलाई चिनाउने माध्यम थुप्रै छन् । त्यसमा यहाँका सरकारी विद्यालय पनि हुन । नेपालगन्ज सहरको विकाससँगै शिक्षाको पुर्वाधारमा पनि अगाडी बढेको इतिहास छ । आजभन्दा ८६ वर्ष अघि स्थापना भएको सरकारी विद्यालय हो नारायण माध्यमिक विद्यालय । नेपालगन्ज उप–महानगरपालिका ११ स्थित नारायण माध्यमिक विद्यालय नेपालगन्जको पुरानो विद्यालय मध्ये एक हो ।
जसको योगदान नेपालगन्जको शैक्षिक स्तर बृद्धिमा महत्वपुर्ण मानिन्छ । नेपालगमा शिक्षाका पुर्वाधारहरु निकै कम भएका बेला वि.सं. १९९२ नारायण माध्यमिक विद्यालयको स्थापना भएको थियो । नारायण माध्यमिक विद्यालयलाई जनताको विद्यालयको पनि भन्ने गरिन्छ । देशमा शैक्षिक क्षेत्र मंहगो बन्दै गएकाबेला नारायण माध्यमिकले निकै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आरहेको छ । यसले गर्दा पनि नारायण माध्यमिकलाई जनताको स्कुलको रुपमा भन्ने गरिएको बताउँछन प्रधानाध्यापक बाबुतरुन गौतम ।
त्रिभुवन चोक भवानीबागमा स्वः लक्ष्मी नारायण चौधरीको सम्झनामा उनकी श्रीमति स्वः औतारदेवी चौधराईनले विद्यालयको स्थापना गरेकी थिइन । पढनका लागि विद्यालय नभएको बेला स्थापना भएको नारायण माध्यमिकले बाँकेको शैक्षिक स्तरलाई पु¥याएको बताउँछन प्रधानाध्यापक गौतम । उनले भने, ‘नेपालको ऐतिहासिक विद्यालयमा नारायण स्कुल पर्छ । यसले यहाँका निम्न देखी उच्च वर्गको परिवार सदस्यलाई शिक्षित गर्नमा महत्वपुर्ण भुमिका खेलेको छ । इतिहासमा यसले शिक्षाको क्षेत्रमा एउटा अतुलनीय काम गरेको थियो । अहिले पनि हामीले समय सापेक्ष शैक्षिक स्तर विकास र सुविधाहरु उपलब्ध गराउँदै पढाउने गरेका छौं ।’
बालमैत्री, अपाङमैत्री जस्ता कुरालाई पहिलो प्राथमिकतामा राखेको नारायण माध्यमिक विद्यालयले कोभिड–१९ को प्रभाव परेका बेला अनलाइन कक्षा समेत संचालन गरेर शैक्षिक गतिविधिलाई अगाडी बढाइरहेको छ ।
यससँगै विद्यालयले उच्च शिक्षाका क्षेत्रमा व्यवस्थापन, होटेल म्यानेजमेन्ट, कानुन, शिक्षा लगायतका विषयमा अध्यापन गराउँदै आएको छ ।
अहिले विद्यालयमा ६ सय भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गरिरहेका छन । विधालयले हप्ताको एक दिन खेलकुद, योग ध्यान गराउने, वादविवाद प्रतियोगिता आयोजना गर्ने गर्छ । जसले विद्यालयको शैक्षिक स्तरलाई बढाउन सहयोग गरिरहेको छ । समयको माग अनुसार विद्यालयले भौतिक पुर्वाधारमा वृद्धि गर्दै लगेको छ । पुर्वाधारमा वृद्धि भएपनि विद्यालयले सुधार गर्नु पर्ने थुप्रै कुराहरु छन । जुन नारायण विद्यालयका लागि चुनौति हुन ।
विद्यार्थीको लागि शुद्ध पिउने पानीको व्यवस्था छैन । वर्षातको समयमा विद्यालय परिसरमा पानी जम्ने गरेको छ । जसले विद्यार्थीलाई हुडडुल गर्न समस्या हुने गरेको छ । ढलको निकासको व्यवस्था कमजोर भएका कारण यस्तो समस्या विद्यालयले भोग्नु परेको छ । समयको माग अनुसार विद्यालयको भौतिक पुर्वाधार र सुविधालाई बृद्धि गर्न सके नारायण विद्यालय साच्चिकै एउटा नमुना विद्यालय बन्न सक्छ । उदाहरणीय विद्यालय बन्न सक्छ ।