नेपालगन्ज विमानस्थलबाट ४ किलोग्राम सुनसहित दुई जना पक्राउ
Friday, September 3rd, 2021, 6:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ भाद्र
नेपालगन्ज विमानस्थलबाट बाँके प्रहरीले चार किलोग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । श्री एयरमार्फत काठमाडौँबाट नेपालगन्ज आएका आएका मोरङका बुद्धिमान खाती र झापाका आमिर लगुमा विश्वकर्माका साथबाट चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार उनीहरु लगाएको जुत्तामा उक्त सुन लुकाएर ल्याएका थिए । सुन ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट सुन बरामद भएको अधिकारीले जानकारी दिए ।
बरामद भएको सुनमा ६ वटा सुनको बिस्कुट र एउटा तिलहरी रहेको उनले बताएका छन् । प्रहरीले नियन्त्रणमा लिएका खाती र विश्वकर्माले भने उक्त सुन आफूहरुको वैद्य सुन रहेको बताएका छन् । उनीहरुले सुन खरिदको बील समेत देखाएपछि घटनाको वास्तविकतामाथि अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन् ।
सुन वैद्य हो या अवैद्य भन्नेबारेमा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए ।