अधिवक्ता सुनिल श्रेष्ठसँग पठन वार्ता
Saturday, September 4th, 2021, 3:37 pm
Kalpristha
पुस्तकहरू अति धेरै छन् तर समय अति थोरै छ । -फ्रान्ज काफ्का (उपन्यासकार)
पुस्तक पठन संस्कारबारे कालपृष्ठको संवाद श्रृंखला ‘पठन वार्ता’को तेस्रो अंक नेपाल बार एशोसियसनका केन्द्रिय उपाध्यक्ष अधिवक्ता सुनिल श्रेष्ठसँग ।
१. तपाईंको रोजाईमा कस्ता पुस्तक पर्छन् ?
मेरो रोजाईमा पर्ने विशेष गरी साहित्यिक र सकारात्मक सोच सम्बन्धी पुस्तकहरु हुन् ।
२. अहिले के पढ्दै हुनुहुन्छ ?
मेरो सिरानीमा कुनै न कुनै पुस्तक हुन्छ । किताबको मन परेको विषयवस्तु र अंश दोहोर्याएर पढिरहन्छु । मैले सधैं पढ्ने गरेको डेल कार्नेगीको ‘हाउ टु इन्फ्ल्युएन्स पिपुल’ भन्ने किताब हो ।
३. यसभन्दा अघि के पढ्नुभयो ?
म विदेशी लेखकले लेखेका सकारात्मक सोच र जीवउपयोगी सीपमा पुस्तकहरु छुटाउँछिन् । एउटै किताब भन्दा पनि विभिन्न किताबहरु एकैचोटी पनि पढिरहेको हुन्छु । कणर् शाक्यको ‘सोच’ पनि मैले केही समय अगाडी पढेको किताब हो ।
४. ‘हाउ टु इन्फ्ल्युएन्स पिपुल’ र ‘सोच’को मन परेको पक्ष ?
‘हाउ टु इन्फ्ल्युएन्स पिपुल’मा मानिसहरुलाई बोली र व्यवहारबाट कसरी सकारात्मक उदेश्यका लागि प्रभावित गर्ने भन्ने विषय रोचक ढंगले लेखिएको छ । किताबले भन्छ, तिमी आफ्नो अनुकुल भन्दा तिमीसँग भएको व्यक्तिको अनुकुल भएर प्रस्तुत होउ । ॅसोच’ ले जीवनलाई सकारात्मक तरिकाले अघि बढाउन सोचको महत्वलाई उजागर गर्छ ।
५. ती पुस्तकको मन नपरेको पक्ष ?
त्यो चाहीँ हेर्ने दृष्टिकोणमा भर पर्ला । आफूलाई मन परेको पुस्तकका कमजोरीमा ध्यान जाँदैन मेरो । बहुतै राम्रो र कम राम्रोको फरक मात्रै होला ।
६. अब के पढ्ने तयारीमा हुनुहुन्छ ?
त्यस्तो ठ्याक्कै तयारी छैन । भएका पुस्तक नै दोहोर्याएर पढ्ने हो । हाल व्यवसायीक क्षेत्रमा पनि अलि बढी व्यस्त नै छु । मलाई लाग्छ फुर्सद भएको बेलामा किताब पढ्नुको आनन्द व्यस्त भएको बेला आउँदैन ।
७. अहिलेसम्म कति पुस्तक पढ्नुभयो होला ?
संख्यामा त गनेको छैन । तर, कुनै समय म साहित्यीक पत्रिकाहरु छुटाउँथिन । राम्रो छ भनेर थाहा पाएको पुस्तक पनि छुटाउँथिन । सुरुका दिनमा साहित्यीक पुस्तक, त्यसपछि कानुनी र मानवअधिकार सम्बन्धी पुस्तक त पढ्नु नै पर्यो । अहिले सकारात्मक सोचका पुस्तकहरु बढी पढिरहेको छु ।
८. घरमा पुस्तकालय छ ?
पुस्तकालय नै त छैन । तर मेरो कोठामा किताबहरु संग्रह गरेर राखेको छु ।
९. कति पुस्तक संग्रहित होलान् ?
अहिले मलाई लाग्छ करिब ६०, ७० वटा सकारात्मक सोंचका किताबहरु मसँग छन् । त्यसबाहेक कानुनका किताबहरु मेरो अफिसमा छन् । साहित्यीक पुस्तकहरु कलेक्सन गरेको थेँ, ती पनि होलान् केही ।
१०. पुस्तकालयमा भएको सबैभन्दा प्रिय पुस्तक ?
मैले धेरैपटक पढेको डेल कार्नेगीको ‘हाउ टु इन्फ्ल्युएन्स पिपुल’ नै हो ।
११. हालसम्म पुस्तकमा कति खर्च गर्नुभयो होला ?
कानुनका किताबहरुमा त धेरै खर्च हुन्छ । अरु किताबमा त्यति धेरै महंगो पनि हुँदैनन् । कानुनबाहेकका किताबमा वर्षमा करिब दुई तीन हजार खर्च हुन्छ होला ।
१२. पढ्न खोजेर पनि नपाएको वा नभेटेको पुस्तक ?
नभेटेको त छैन । पढ्न चाहेर पनि पढ्न नपाएका धेरै पुस्तकहरु छन् ।
१३. नेपालगन्जको कुनै लेखक साहित्यकारको पुस्तक पढ्नुभएको छ ?
मैले नयनराज पाण्डेको साहित्यिक किताब पढेको थिएँ र रेडियोमा वाचन गरेको पनि सुनेको थिएँ । उहाँको साहित्य बडा ठेट छ । उहाँले नेपालगन्जको लवज र परिवेश बडो मिठासपूणर् तरिकाले लेख्नुहुन्छ ।
१४. तपाईंको लागि पुस्तकको महत्व के हो ?
जीवनमा पुस्तकको महत्वपूणर् भूमिका हुन्छ । पुस्तकमा ज्ञानको संयोजन जुन तरिकाले गरिएको हुन्छ त्यो कलाकारिता हो । हामीसँग भएको ज्ञानलाई इन्स्टल गर्ने साधन नै हो पुस्तक हो जस्तो लाग्छ ।
प्रस्तुति : बिपी अस्तु