अटोमेटिक पेस्तोलसहित इन्द्रकमल पक्राउ
Saturday, September 4th, 2021, 6:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, १९ भाद्र
दाङमा प्रहरीले एक राउण्ड गोली लोड गरिएको अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । अवैद्य हातहतियार बोकी सर्वसाधरणलाई त्रसित पार्ने काम गर्दै आएका रोल्पा रुन्टिगढी गाउँपालिका-९ सखी घर भै हाल घोराही उपमहानगरपालिका-१३ बडहरा निवासी २५ बर्षीय इन्द्रकमल बुढामगरलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीले गोप्य सूचनाका आधारमा घरमा खानतलासी गर्दा घरमा राखेको रा ५ प ८७६२ नम्बरको स्कुटीमुनि रातो प्लाष्टिकभित्र लुकाईछिपाई राखेको अवस्थामा एक राउण्ड गोलीसहित बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिएका छन् । ‘अवैद्य हातहतियार बोकी सर्वसाधारणलाई त्रसित बनाउने गरेको भन्ने गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो,’ प्रहरी प्रमुख काफ्लेले भने, ‘त्यही सूचनाका आधारमा प्रहरीले अभियुक्तलाइ फ्लो गर्दा शुक्रवार पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।’ बुढामगरलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ परेका व्यक्ति विगतमा पनि ज्यान मार्ने उद्योगमा साढे दुई वर्ष कैद सजाय पाएको व्यक्ति भएको बताए । २०७० वैशाख २५ गते साने घर्तिलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा बुढामगरले दुई बर्ष ६ महिना कैद सजाय भुक्तान गरेको बताए । उनले अहिले हतियार कहाँबाट कसरी प्राप्त गरे भन्ने विषयमा गम्भीर अनुसन्धान भैरहेको काफ्लेले बताए ।
बुढामगरलाई मुलुकी अपराध (संहित) ऐन २०७४ को परिच्छेद ६ को दफा १३२ को उपदफा १ बमोजिम ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
दाङ प्रहरीले यसअघि पनि देउखुरीको धानखोलाबाट अवैद्य पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । जिल्लामा पछिल्लो समय हातहतियार देखाई डर धम्की देखाउने र चन्दा माग्र्नेहरु सक्रिय बनेको सूचनाहरु आउने गरेको प्रहरीले बताएको छ ।