आगलागीबाट २ करोडको क्षति
Monday, September 6th, 2021, 8:40 pm
Kalpristha
नेपालगन्ज, २१ भाद्र (कालपृष्ठ)-नेपालगन्ज उप-महानगरपालिका-१२ मा रहेको एस एस बिजुली भण्डारमा सोमबार बिहान आगलागी भएको छ । आगलागीबाट करिब दुई करोड बढीको क्षति भएको संचालक मदन केसीले बताए ।
‘आगो कतिबेला लाग्यो भनेर यकिन त भन्न सकिएन । घरबेटीले बिहान ७ बजेतिर खबर गरेपछि हामीलाई थाहा भएको हो,’ केसीले भने ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने केसी बताउँछन् । उनले भने, ॅहाम्रो विद्युतिय पसल भएकाले सर्टसर्किट भएर आगो लागेको हुन सक्छ । आगलागीबाट दुई करोड बढीको क्षति भएको मेरो अनुमान छ ।’
आगलागी बिजुली भण्डारको गोदाममा लागेको हो । आगलागीबाट गोदाममा रहेका धेरैजसो सामान जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले बताए ।
‘आगलागीबाट गोदाममा भएका धेरैजासो सामान जलेका छन् । पसल संचालकले भन्नु भएअनुसार पसलमा दुई करोडको सामान रहेको र आधा भन्दा बढी आगोले जलेको छ,’ न्यौपानेले भने । एक दमकल र प्रहरीको सक्रियामा नियन्त्रणमा करिब १ घण्टामा नियन्त्रणमा आएको न्यौपानेले बताए ।
उनले भने, ‘दमकलले मात्र आगो नियन्त्रणमा ल्याउन सकिएन । किनकी दमकल प्रयोग गर्दा गोदाममा रहेका अन्य सामानमा पनि क्षति हुन सक्ने भएकाले हामीले बाल्टीमा पानी भरेर आगो नियन्त्रणमा ल्याएका हौं ।’