फोहोर व्यवस्थापनमा लमहीलाई सकस
Tuesday, September 7th, 2021, 8:30 am
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, १४ साउन
बजार क्षेत्रबाट संकलन हुने फोहोरबाट घोराही उप-महानगरपालिकाले ग्याँस उत्पादन गर्ने तयारी गरिरहेका बेला लमही नगरपालिकालाई भने फोहोर व्यवस्थापनको सकस छ । दिनप्रदिन बढ्दै गएको फोहोर व्यवस्थापनका लागि दीर्घकालिन योजना बनाएर अघि बढ्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या देखिएको हो । हाल नगरपालिकाले बजार क्षेत्रबाट संकलन भएको फोहोर लमही नगरपालिका-५ मा रहेको अजम्मरी सामुदायिक वनमा बनाइएको डम्पिङ साइडमा फाल्ने गरेको छ ।
नगरमा जनप्रतिनिधि आएको पहिलो वर्ष गल्ने फोहोरलाई कम्पोष्ट मल बनाउने तथा नगल्ने फोहोरलाई फेरि प्रयोग गर्ने गरी योजना बनाइए पनि चार वर्षसम्म पनि काम हुन सकेको छैन । फोहोर व्यवस्थापनको योजना अनुसारको काम हुन नसक्दा निणर्य भएको चार वर्षसम्म पनि फोहोर व्यवस्थापनको काम हुन नसकेको लमही नगरपालिका वातावरण तथा सरसफाई शाखाकी प्रमुख गायत्री थापाले पनि स्वीकार गरिन् ।
‘बजारक्षेत्रबाट संकलन हुने फोहोर दीर्घकालिन रुपमा समाधानका लागि काम हुन नसक्दा तीन वर्षसम्म केही काम हुन सकेन’, शाखा प्रमुख थापाले भनिन्, ‘जसले गर्दा अहिले पनि नगरपालिकाले फोहोरलाई संकलन गरी डम्पिङ साइडमा फाल्ने काम मात्र गरेको छ ।’
आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना गल्ने र नगल्ने फोहोरलाई छुट्याएर डम्प गर्ने योजनाअनुसार अभ्यास गरिएको थियो । करिब एक महिना गल्ने र नगल्ने फोहोरलाई छुट्याएर उठाउने काम गरियो । तर पछि बजार क्षेत्रका बासिन्दाले गल्ने र नगल्ने फोहोरलाई छुट्याएर दिन सकेनन् । जसले गर्दा यो काम पनि सफल हुन नसकेको स्वास्थ्य शाखा प्रमुख थापाले बताइन् ।
‘जनप्रतिनिधि आएको चार वर्षमा फोहोरलाई मोहर बनाउने कामलाई प्राथमिकता नदिँदा पालिका फोहोर व्यवस्थापनमा असफल देखियो । राम्रोसँग काम गरेको भए दीर्घकालीनरुपमा समस्या समाधान गर्न सक्न्थ्यिो । चार वर्ष फोहोर व्यवस्थापनका हिसावले सफल हुन सकिएन, ’ उनले भनिन् ।
उनका अनुसार अहिले गल्ने, नगल्ने, सिसाका टुक्रा, प्लाष्टिक एकैठाउँमा डम्प गर्ने गरिएको छ । जंगलमा जथाभावी फोहर फाल्नाले जंगलमा समेत दुर्गन्ध फैलने गरेको स्थानीय बताउँछन् । स्थानीयवासी गाई भैसीका लागि घाँस काट्न तथा अन्य कामका लागि जंगल जाँदा दुर्गन्धले सताउने गरेको बताउँछन् । फोहोर व्यवस्थापनको लागि सचेत हुन आवश्यक भएको भन्दै नगरपालिकाले पालिकाका एक सय तीन टोल विकास संस्थाका पदाधिकारीलाई तालिम दिएको थियो ।
फोहोर व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ७५ लाख रुपैयाँ विनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख थापाले बताइन् । उनले दीर्घकालीन रुपमा समाधानका लागि पहल नहुँदा डम्पिङ साइडमा दुर्घन्ध भएपनि बजारमा भने नगरपालिकाले फोहोर हुन नदिएको उनले बताइन् । उनले बजार क्षेत्रमा फोहोर हुन नदिनका लागि पछिल्लो समयमा नियमितरुपमा सफा गर्ने काम गरिएको बताइन् । लमही नगरपालिकालाई मात्र नभएर दाङका अन्य स्थानीय तहमा पनि फोहोर व्यवस्थापनको उचित व्यवस्था भएको छैन ।