सिसि क्यामरा व्यवस्थापन गर्न माग
Tuesday, September 7th, 2021, 5:32 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ भाद्र
बाँकेका अधिकारकर्मी र नागरिक समाज संस्थाहरुले नेपालगन्ज नगरमा रहेका सिसि क्यामराको व्यवस्थापन र मर्मत सम्भार गर्नु पर्ने भन्दै आफ्नो ध्यानाकर्षण गराएका छन् । उनीहरुले जिल्ला प्रशासन कर्यालय बाँकेलाई सोमबार ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल सिसि क्यामराको मर्मत सम्भार गर्न माग गरेका हुन् ।
अभिवक्ता विश्वजीत तिवारी, अधिकारकर्मी शाहिदा शाह, टेकनाथ आचार्य, साहिल अन्सारीलगायतले सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टलाई ध्यानाकर्षण पत्र बुझएका थिए ।
पत्रमा सिसि क्यामरा बिग्रिएका कारण नगरमा हुने घटनालाई नियन्त्रण गर्न नसकिएको उल्लेख गरिएको छ । ॅकेही दिन अघि मात्र त्रिभुवन चौक आसपासमा तीन वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिई ती बालिकाको घटनास्थलमा मृत्यु भयो तर ठक्कर दिने मोटरसाइकल फरार भएको र अहिलेसम्म पनि प्रक्राउ पर्न नसकेको अवस्थामा रहेको छ । यदि सिसि क्यामराको राम्रो व्यवस्थापन भएको भए त्यो घटनाको दोषी प्रक्राउ पथ्र्यो’ पत्रमा उल्लेख गरिएको छ ।
अभिवक्ता तिवारीले नेपालगन्जमा जडान गरिएका सिसि क्यामरामा प्रत्येक्ष्य जनताको पैसा खर्च भएपनि त्यसको सेवा जनताले नपाएको गुनासो गरेका छन् । उनले भने, ॅनेपालगन्ज उप-महानगरपालिका क्षेत्रअन्तर्गत नेपालगन्ज बजारमा विभिन्न सरकारी तथा गैरसरकारी र निजी उद्योगी व्यवसायीहरुको सहयोगमा लाखौं रुपैयाँमा सिसि क्यामरा जडान गरिएको थियो । त्यसको व्यवस्थापनको जिम्मा भनेर जिल्ला प्रहरी कार्यालयमा सचिवालयमा राखिएको छ । तर त्यसको खासै प्रभावकारिता देखिदैन ।’
पत्र ग्रहण गर्दैै सहायक प्रमुख जिल्ला अधिकारी विष्टले सिसि क्यामराका विषयमा प्रशासनले विशेष चासोका साथ काम गरिरहेको बताए । उनले ध्यानाकषणर्को विषयलाई सकारात्मक रुपमा लिँदै मागको सम्बोधनको प्रयास गर्ने आश्वासन दिएका छन् ।