नेपालमा फ्रेन्चाइज भलिबल लिगको घोषणा
Tuesday, September 7th, 2021, 6:48 pm
Kalpristha
हिमबिक्रम केसी
काठमाडौं, २२ भाद्र
नेपाली भलिबलको व्यावसायिक दायरालाई फराकिलो बनाउने लक्ष्य सहित नेपालमा फ्रेन्चाइज महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनीले मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग (एनएसएल) महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिग घोषणा गरेको छ ।

लिगको लागि इभेन्ट्स कम्पनीले नेपाल भलिबल संघसँग १० वर्षको सम्झौता समेत गरेको छ। सम्झौता पत्रमा संघका उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे । सम्झौतासँगै प्रतियोगिताका लागि संघले प्राविधिक सहयोग गर्नेछ भने व्यवस्थापन र लागत खर्च इभेन्ट्स कम्पनीले व्यहोर्नेछ ।
यस्तै प्रतियोगिताबाट भएको नाफाको ३० प्रतिशत संघले पाउने छ । पहिलो संस्करणको प्रतियोगिता नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म गर्ने लक्ष्य राखिएको एनएसएलले जनाएको छ। दोस्रो संस्करणबाट होम एण्ड अवेको आधारमा विभिन्न शहरमा खेलाईने बताईएको छ । सम्झौतापछि बोल्दै चौधरीले भलिबल खेल र खेलाडीलाई व्यवसायिक बनाउन भूमिका खेल्ने बताईन् ।
‘खेलकुदको माध्यमबाट युवाको विकास गर्दै सबै प्रदेशमा दक्षता अभिबृद्धि गर्ने लक्ष्य रहेको छ । र, महिला र पुरुष भलिबल खेल र खेलाडीलाई व्यवसायिक बनाउन भूमिका खेल्ने छौँ,’ उनले भनिन् । उपाध्यक्ष मास्केले यस प्रतियोगितापछि नेपालले अन्तराष्ट्रिय क्षेत्रमा उपलब्धि हासिल गर्न सहयोग गर्ने विश्वास ब्यक्त गरिन्।
‘प्रतियोगिताले भलिबल खेलको विकास र विस्तारका लागि व्यवसायिकरण गर्ने, भलिबल खेलले फड्को मारेर अन्तराष्ट्रिय रूपमा उपलब्धी हासिल गर्ने अपेक्षा छ,’ उपाध्यक्ष मास्केले भनिन्, ‘यसले खेलको पूर्वाधार विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास छ ।’ स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गरेको थियो ।
एनएसएलको समापन समारोहमा भलिबलको फ्रेन्चाईजको घोषणा गर्ने तयारी थियो । तर कोभिडको कारण तत्कालिन समयमा भलिबलको फ्रेन्चाईजको घोषणा हुन सकेको थिएन ।