कर्मचारी इमान्दार र लगनशील हुनु पर्नेमा जोड
Tuesday, September 7th, 2021, 7:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्ती सोनारी, २२ भाद्र
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले कर्मचारी इमान्दार लगनशील हुनु पर्नेमा जोड दिएका छन् । १८ औं निजामति सेवा दिवसका अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष थारुल निजामति कर्मचारीले आफूले पाएको जिम्मेवारीलाई जागिरका हिसाबमा मात्र लिनु नहुने बताएका हुन् ।
जागिरलाई जिम्मेवारीका हिसाबले लिन सके जनताको नजरमा कर्मचारीको मानसम्मान बढ्ने मात्र नभई समग्र संस्थाको विकास हुने थारुले बताएका छन् । उनले जुनसुकै तह र तप्काका कर्मचारीले पाएको जिम्मेवारीलाई लगनशील र इमानदार भएर निर्वाह गरे कर्मचारीको मात्र नभएर समग्र राप्ती सोनारी गाउँपालिकाको विकासमा कोसे ढुंगाको काम गर्ने बताएका छन् ।
अध्यक्ष थारुले नीति र नियममा रहेर सेवाग्राहीलाई सन्तुष्ट गर्ने किसिमले कर्मचारीले सेवा प्रवाह गर्नु पर्ने सुझाव दिएका छन् । सबै सेवाग्राही पढेलेखेको नहुने भएकाले गाउँपालिकाले दिन सेवा प्रवाह गर्नु कर्मचारीको प्रमुख दायित्व भएको अध्यक्ष थारुले बताए ।
त्यसैगरीगाउँपालिका उपाध्यक्ष धनिकुमारी खत्रीले अनुशासन नै निजामति कर्मचारीको पहिलो कर्तव्य भएकोले कर्मचारीले नेपाल सरकारबाट निर्देश गरेको नियम कानुनलाई हुबहु पालना गर्नु जोड दिइन् ।

कार्यक्रममा बोल्दै प्रशासकिय प्रमुख लोकबहादुर शाही
१८ औं निजामति सेवा दिवस कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले निजामति कर्मचारीको अनुशासन र काम नै ठूलो भएको बताएका छन् । अनुशासन र कामले नै मानिसलाई चिनाउने भएकाले साना तिना कुरामा अल्झिएर कडा मेहनतपश्चात प्राप्त फललाई व्यर्थमा फाल्न नहुने शाहीले बताएका छन् ।
उनले नेपाल सरकारबाट प्राप्त नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिन नै कर्मचारीको पहिलो काम, कर्तव्य भएकाले अन्य कुरामा नअल्झिएर सेवाग्राहीलाई चुस्त र दुरुस्त तवरले सेवा दिनु पर्ने कर्मचारीलाई सुझाएका हुन् ।