बाँकेमा एकजना वडाध्यक्षसहित ११ जनामात्रै नेकपा एसतिर
Tuesday, September 7th, 2021, 8:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ भाद्र
बाँकेका स्थानीय तहमा नेकपा एमालेबाट निर्वाचित ११ जना जनप्रतिनिधिले मात्रै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अर्थात् नेकपा एस रोजेका छन् । एमाले छोड्नेमध्ये एकजना वडाध्यक्ष छन भने अरु सबै वडासदस्य र कार्यपालिका सदस्यहरु रहेका छन् । बाँकेका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तह खजुरा, जानकी बैजनाथमा अध्यक्ष र उपाध्यक्ष तथा कोहलपुर नगरपालिकामा मेयर एमालेका रहेका छन् । आठ वटा तहमा एक सय ५६ जना एमालेबाट जितेका जनप्रतिनिधि रहेकोमा ११ जनाले मात्रै नेकपा एस रोजेका छन् ।
नेकपा एस रोज्ने वडाध्यक्ष बैजनाथ गाउँपालिका-४ का वडाध्यक्ष कालीबहादुर सिंह रहेका छन् । उनले मंगलबार जिल्ला निर्वाचन कार्यालय, नेपालगन्जमा पुगेर एकीकृत समाजवादी रोजेका हुन् ।
नेपालगन्ज उप-महानगरपालिकाबाट नेपका एस रोज्नेहरुमा नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ का सदस्य डम्बर थापा मात्रै रहेका छन् । यसैगरी खजुरा गाउँपालिकाबाट ४ जनाले एमाले छाडेर नेकपा एस रोजेका छन् । उनीहरु वडा नम्बर ६ का सदस्य हजुरा बम, खजुरा-२ का सदस्य नन्दलाल गुर्ताल, खजुरा-१ का रामबहादुर शाही र देउप्रसाद बुढा रहेका छन् । कोहलपुर नगरपालिकाबाट ३ जनाले एमाले छाडेका छन् । कोहलपुर-५ का वडासदस्य शंकर खड्का, कोहलपुर-६ का फग्गु थारु, कोहलपुर-११ का हरिकला सुनार नेकपा एसतिर लागेका छन् । बैजनाथ गाउँपालिका-४ का वडाध्यक्ष सिंह, जानकी गाउँपालिकाका कार्यपालिका सदस्य टीकाराम सुनारले पनि नेकपा एस रोजेका नेकपा एकीकृत समाजवादी बाँकेका नेता अशोक कोइरालाले जानकारी दिए ।
राप्तीसोनारी, डुडुवा र नरैनापुरका कुनैपनि जनप्रतिनिधिले एमाले छोडेनन् । निर्वाचन आयोगले दल छान्न २२ भदौसम्मको समय दिएको थियो । नेता कोइरालाले अरु केही साथीहरु आउने तयारी गरेपनि रातारात परिवर्तन भएको दावी गरेका छन् ।
कोइराला एमाले र माओवादी केन्द्रको पार्टी एकता हुनुअघि एमाले जिल्ला अध्यक्ष थिए । उनले एमाले फुटेपछि नेकपा एस रोजेका हुन् । कोइरालाले नेकपा एस रोजेपनि जनप्रतिनिधिको सानो संख्यामात्रै नेकपा एसतर्फ लागेको छ । बाँकेमा संघका एकजना र प्रदेशका दुई जना सांसदले पनि एमाले छाडेनन् ।