भेरी अस्पताल घटना प्रकरणः समितिले बुझाउन सकेन प्रतिवेदन
Wednesday, September 8th, 2021, 6:12 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, २२ भाद्र
भेरी अस्पतालले मृत शिशुको हातमा अर्कै आमाको ट्याग लगाइदिएको घटनाबारे छानबिन गर्न गठित समितीले समयमै काम सम्पन्न गर्न असफल भएको छ । ७ दिनभित्र घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन जिल्ला प्रशासन बाँकेले भदौ ११ गते पाँच सदस्यीय छानबिन समिती गठन गरेको थियो । गठन भएको १२ दिन बितिसक्दा पनि समितीले अस्पताल प्रशासन र स्वास्थ्यर्कीसँग सोधपुछ पनि गरेको छैन ।
समितीका संयोजक बाल रोग विशेषज्ञ डा. रोमा बोराले हालसम्म पीडित पक्षसँग सोधपुछ गर्ने काम मात्रै भएको जानकारी दिइन् । डा. बोराले भनिन्, ‘अहिलेसम्म हामीले पीडितहरुसँग घटनाबारे सोधपुछ गरेका छौँ । अब अस्पताल प्रशासन र स्वास्थ्यकर्मीसँग सोधपुछ गर्दै छौँ ।’
उनले स्वास्थ्यकर्मी र अस्पाल प्रशासनसँग छलफल गरेर पुनः पीडित र अस्पताल पक्ष दुवैलाई एकैठाउँ राखेर छलफल गर्ने बताइन् । ७ दिन समय दिइएको समितिको म्याद सएिको पाँच दिन भइसक्दा पनि प्रशासनले म्याद थपेको छैन । संयोजक डा. बोराले बुधबार अपरान्ह कालपृष्ठसँग कुरा गर्दै भनिन्, ‘म्याद थपिएको छैन । आज थप्नलाई रिक्वेस्ट गर्ने भनेका थियौँ । के भयो बुझ्न पाएको छैन ।’
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं कार्यालयका सूचना अधिकारी दीर्घराज उपाध्यायले समितिले म्याद थप गरे-नगरेको विषयमा अनभिज्ञता प्रकट गरे ।
अर्का सहायक प्रमुख जिल्ला अधिकारी संकरबहादुर विष्टले अहिलेसम्म समितीका कोहीपनि व्यक्ति म्याद थपका लागि नआएको बताए । ‘म्याद थप गर्नका लागि समितिले करणसहित निवेदन दिनुपर्छ । त्यसपछि प्रशासनले म्याद थप गर्छ,’ विष्टले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी विष्टले समितीले जसरी पनि घटनाबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
‘यो समितीले बुझाउने प्रतिवेदनले घटनाबारे मात्रै नभई प्रसुती गृहमा भएका कमीकमजोरी र सुधार गर्नुपर्ने कुरा पनि बाहिर ल्याउँछ । त्यसले अस्पतालप्रति विश्वसनीयता बढाउँछ भने सेवा सुधारमा पनि भूमिका खेल्छ,’ विष्टले भने । उनले यसो भनिरहँदा प्रशासनले पनि समितीबारे चासो नराखेको प्रष्ट भएको छ ।
गत भदौ ९ गते खजुरा गाउँपालिका-६ की २० वर्षीया चन्द्रा विक जन्माएको शिशुु भेरी अस्पतालको एनआइसियुमा मृत्यु भएको थियो । मृत्यु भएका शिशुुको हातमा अस्पतालका कर्मचारीले दुईवटा आमाको ट्याग लगाइदिएका थिए । परिवारले शिशुुको अन्तिम संस्कार गर्न लाग्दा हातमा अर्कैको ट्याग देखेपछि आशंका उत्पन्न भई उनीहरुले बालकलाई खाडलबाट निकालेर खजुबाट पुनः अस्पताल ल्याएका थिए ।
९ गते राती अस्पतालमा तनाव उत्पन्न भएको थियो । १० गते अस्पताल प्रशासन र पीडित पक्षबिच भएको वार्तामा घटनाबारे छानबिन गर्न समिति गठन गर्न जिल्ला प्रशासनलाई अनुरोध गर्ने निणर्य भएको थियो । त्यसको पछिल्लो दिन जिल्ला प्रशासन कार्यालयले डा. बोराको संयोजकत्वमा समिति पाँच सदस्यीय समिती गठन गरेर ७ दिनभित्र घटना घट्नुको कारण, सेवा प्रवाहमा भएका कमिकमजोरी र सुधार गर्नुपर्ने कुरासहितको प्रतिवेदन तयार गरि बुझाउन निर्देशन दिएको थियो ।
साथै, उपचारमा लापबाही भएको वा बच्चा साटिएको पाइएमा दोषीलाई कानुनी कारबाही गरिने सहमति भएको थियो । समितिमा जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, अधिवक्ता वसन्त गौतम र प्रहरी निरीक्षक इश्वरदेव गिरी सदस्य रहेका छन् ।
तर, अहिलेसम्म शिशुु र उनका मातापीतको डिएनए टेस्टका लागि नमुना संकलन गरेर ल्याबमा पठाउनेबाहेक अर काम हुन सकेको छैन । गठित समिती पनि गैर जिम्मेवार बनेपछि दोषीलाई कारबाही हुने र सत्यतथ्य बारि आउनेमा आशंक उत्पन्न भएको छ । मृतक शिशुुका पिता गोविन्द विक आफूले आगामी दिनमा अपतालमा लापरबाहीका घटना नदोहोरिउन् भनेर छानबिनको माग गरेपनि गठित समितीले सत्यतथ्य बाहिर आउनेमा आशंका व्यक्त गरेका छन् । समिती गैरजिम्मेवार बनेको उनको आशंका छ । ‘मेरा लागि मात्रै नभएपनि अस्पतालको विश्वसनीयता सेवाको प्रभावकारिताका लागि सत्यतथ्य सार्वजनिक हुनु आवश्यक छ,’ गोविन्दले भने ।
किन हुन्छ भेरीको लेवर वार्डमा लापरबाही ?
भेरी अस्पतालले मृत शिशुको हातमा अर्कैको ट्याग लगाइदिएपछि……