आज हरितालिका तीज मनाइँदै
Thursday, September 9th, 2021, 5:30 am
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २३ भाद्र
आज भाद्र शुक्ल तृतीया । वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू आज देवादि देव महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व मनाउँदैछन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेको शास्त्रीय मान्यताका आधारमा तीज बनाउने गरिएको हो ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएपनि पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । पार्वतीका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मान्यता छ ।
तीजमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरु बताउँछन् ।
नारीहरुको उन्मुक्तिको सन्दशे दिने सांस्कृतिक पर्वसमेत रहेको तीजमा विवाहित महिलाहरु माइत जाने, साथीसँगीहरु मिलेर नाचगान र रमाइलो गर्ने गर्दछन् । नेपाली संगीत क्षत्रेमा तीजका भाकाहरुले व्यवसायीक रुप पनि लिइसकेका छन् ।
आजका दिन नेपालगन्जको बागेश्वरी मन्दिर लगायत देशका शिवालयहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले मन्दिर पुग्ने दर्शनार्थीहरुलाई भौतिक दुरीको पालना र माक्सको अनिवार्य प्रयोग गराइने बताएका छन् ।