बाँकेमा नेकपा एस कमजोर
Thursday, September 9th, 2021, 6:37 pm
Kalpristha
जिल्ला तहमा पनि पहिले माधव नेपाल पक्षमा ढल्किएका र बिचमा आएर टथस्त बसेका निरक गुरुङ एमालेको जिल्ला अध्यक्ष चयन गरिएका छन् । जिल्लाको नेतृत्वका मुख्य चार पदमध्ये दुई पदमा पहिले माधव पक्षमा रहेका नेताहरु चयन भएका छन् । जिल्ला कमिटीको सचिवमा चयन भएका रत्न खत्री पनि पहिले माधव नेपाल पक्षमा रहेका थिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ भाद्र
नेकपा एमाले विभाजनपछि बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अर्थात नेकपा एस बाँकेमा कमजोर बनेको छ । स्थानीय तहमा निर्वाचित अधिकांश जनप्रतिनिधि र पार्टीका नेताहरुले एमाले छोडेनन् । पहिले समाजवादीतिर ढल्किएका स्थानीय नेताहरु पनि एमालेमै फर्किएका छन् ।
बाँकेका आठ वटा स्थानीय तहमा एक सय ५६ जना एमालेबाट जितेका जनप्रतिनिधि रहेकोमा ११ जनाले मात्रै नेकपा एस रोजे । राप्तीसोनारी, डुडुवा र नरैनापुरका कुनैपनि स्थानीय जनप्रतिनिधिले एमाले छोडेनन् । बाँकेमा एमालेका तर्फबाट निर्वाचित संघका एकजना र प्रदेशका दुई जना सांसदले पनि एमाले छाडेनन् । निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई दल छान्न २२ भदौसम्मको समय दिएको थियो ।
जिल्ला तहमा पनि पहिले माधव नेपाल पक्षमा ढल्किएका र बिचमा आएर टथस्त बसेका निरक गुरुङ एमालेको जिल्ला अध्यक्ष चयन गरिएका छन् । जिल्लाको नेतृत्वका मुख्य चार पदमध्ये दुई पदमा पहिले माधव पक्षमा रहेका नेताहरु चयन भएका छन् । जिल्ला कमिटीको सचिवमा चयन भएका रत्न खत्री पनि पहिले माधव नेपाल पक्षमा रहेका थिए ।
सचिव खत्रीले पहिले माधव पक्षमा रहेका बैजनाथको निर्वाचित जनप्रतिनिधिको ठूलो हिस्सा, खजुरा र कोहलपुर जनप्रतिनिधि एवं स्थानीय नेताहरु सबैले एमाले नछाडेको बताए । नेपालगन्जका नेताहरुसँग पनि छलफल चलिरहेको र उनीहरु पनि पार्टी विभाजनको पक्षमा नरहेको खत्रीको भनाई छ ।
उनले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताए । पार्टी विभाजन हुनुअघि माधव नेपालले पार्टीका तल्लो तहसम्मका कमिटीहरु खारेज गर्ने निणर्यविरुद्ध आवाज उठाएपछि आफूहरु नेपाल पक्षमा लागेकोमा अहिले २०७५ साल जेठ २ भन्दा अधिकै अवस्थामा पार्टी फर्किएपछि अर्को पार्टीमा जानुको कुनै औचित्य नहुने उनले बताए ।
‘फागुन २८ गते साविकका माथिदेखि तलसम्मका कमिटीहरुलाई नमान्ने जुन एकलौटी निणर्य भयो । हामीले त्यसका विरुद्ध पार्टीमा अन्तरसंघर्ष गर्यौँ । त्यसको नेतृत्व माधव कमरेडले गर्नुभयो । हामी त्यतिबेला उहाँको साथमै थियौँ । जब २०७५ जेठ २ भन्दा अघिको अवस्थामा फर्किसकेपछि पार्टी विभाजनको कुनै औचित्य रहेन । अैचित्यबिनाको पार्टी विभाजनको पक्षमा लाग्न सकिएन,’ खत्रीले कालपृष्ठसँग भने । उनले पार्टी भित्रका समस्याहरु पार्टी भित्रै रहेर समाधान खोजिने बताए ।
एमाले बाँकेका उपाध्यक्ष एवं खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बाँकेमा समाजवादी कमजोर बनेको बलियो प्रमाण निर्वाचन कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरुले गरेको सनाखत नै भएको बताए । ‘कोहीपनि नेता कार्यकर्ता पार्टी विभाजनको पक्षम छैनन्,’ उनले भने ।