एमसीसीकी उपाध्यक्ष नेपालमा : सैन्य रणनीति अन्तर्गत नभएको स्पष्टीकरण
Thursday, September 9th, 2021, 9:12 pm
Kalpristha
नेपालगन्ज, २४ भाद्र
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आएकी छन् । नेपाल भ्रमणमा आएकी सुमारले राजनीतिक दलका नेताहरुलाई भेटेर एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको स्पष्टीकरण दिएकी छन् ।
एमसीसीलाई लिएर ध्रुवीकरण बढेका बेला उपाध्यक्ष सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेको थियो । भेटमा सुमार नेतृत्वको टोलीले चार वर्षदेखि एमसीसी सम्झौताबारे प्रश्न उठेकाले स्पष्ट पार्न आवश्यक ठानेर आएको बताएको छ ।
नेपाल र अमेरिकाले हस्ताक्षर गरेका डकुमेन्ट लिएर आएको भन्दै टोलीले स्वीकार्य भए अनुमोदन गर्न आग्रह गरेको छ । नभए अनुदान अन्य मुलुक जाने पनि बताएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेको एमसीसीको टोलीले सम्झौतालाई लिएर नेपालमा नहुनुपर्ने विवाद भएको बताएको छ ।
एमसीसीको टोलीले अपराह्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरबारमा भेटेको छ । भेटमा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसीबारे नेपालमा उठेका प्रश्नहरुमा स्पष्टीकरण दिएको भेटमा सहभागी नेताहरुले बताए ।